काठमाडौं । दशरथ रंगशालाको निर्माणमा कार्यरत एक कामदारको ज्यान गएको छ ।
भिआईपीतर्फको प्यारापिटको छानोका लागि पोल लगाउने काममा संलग्न ईन्द्रलाल श्रेष्ठको शनिबार अपरान्ह ज्यान गएको हो ।
उनको हदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
शुक्रबार बिहानबाट क्रेन चलाउन सुरु गरेका श्रेष्ठले शनिबार बिहान ११ बजेसम्म काम गरेका थिए ।
दशरथ रंगशालाको भिआईपीतर्फको छानोमा पोल गाड्ने काम उनले गरिरहेका थिए ।
रातभर अनिद्रामा रहेका उनी स्वास्थ्यमा समस्या देखिएपछि शनिबार मध्यान्न घरतर्फ लागेका थिए ।
घरमा जाने बित्तिकै उनले वान्ता गरेको र उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी अस्थायी रुपमा परिवार सहित पुरानो बानेश्वरमा बस्दै आएका थिए ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को चटारोले दशरथ रंगशालाको काम तिव्र गतिमा अघि बढिरहेको छ ।
सोही क्रममा कामदारहरु रातको समयमा समेत बसेर भिआईपीतर्फको प्यारापिट लगायतको रंगशाला पुनर्निमाणको काममा जुटिरहेका छन् ।
परिवारका अनुसार श्रेष्ठलाई उच्च रक्तचाप र सुगरको समेत समस्या थियो । उनी पछिल्लो एक हप्तादेखि रंगशालाको छानोका लागि पोल गाड्ने काममा संलग्न थिए ।
उनैले शुक्रबार राति भिआईपीतर्फको छानो लगाउने अधिकांश पोल गाडेका थिए ।
साग आयोजनामा दशरथ रंगशालाको भिआईपीतर्फको छानो हाल्ने कामले निकै समस्या पारिरहेको छ ।
सोही कारण खेलकुद मन्त्री जगत विश्वकर्मा समेत अधिकांश समय निर्माण स्थलमै बसेर कामको निरिक्षण र अवलोकन गरिरहेका छन् ।
शुक्रबार रातभर समेत मन्त्री विश्वकर्मा मैदानमै बसेर पोल गाड्ने कामको निरिक्षण गरेका थिए ।