काठमाडौं । कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र संन्जेलले पूर्वाधारका कारण दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नरोकिने बताएका छन् ।
खेलपाटीसँग विशेष अन्तरवार्तामा सदस्य सचिव संन्जेलले पूर्वाधारकै कारण राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मिति भन्दा पछि सर्ने सम्भावना नरहेको बताए ।
‘मितिनै तोकेर पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैछ ।’ सदस्य सचिव संन्जेलले भने, ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा हुने मात्र नभएर दशौं पछि कहिल्यैपनि सर्दैन भन्ने इतिहास स्थापित गर्ने उद्धेश्यबाट प्ररित छ । पूर्वाधारका हिसाबले ढिलो हुने अवस्था छैन ।’
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अर्को वर्ष कर्णाली प्रदेशमा आयोजना हुदैछ । मितिनै तोकेर २०८१ साल मंसिर २ देखि ९ गतेसम्म राष्ट्रिय प्रतियोगिता गर्ने घोषणा सरकारको छ । कर्णालीले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्दैछ ।
दशौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर प्रदेश सरकारले साढे १ अर्ब भन्दा बढी रकम बजेट लगानी गरेर रंगशाला सहित खेलकुद पूर्वाधारको कामलाई अन्तिम चरणमा पुर्याएको छ । दुई वर्षअघि सुरु भएको पूर्वाधार निर्माणको काम ३० महिनाभित्र सकिने तालिका रहेको थियो । आगामी जेठसम्म पूर्वाधार निर्माणको काम सकिने कर्णाली प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाको रुपमा खेलकुद पूर्वाधार सहित रंगशाला निर्माणलाई अघि बढाएको हो । संघीयतापछि कर्णाली प्रदेशले ठुलो रकम लगानी गरेर पहिलो पटक खेलकुद पूर्वाधारको लगानी गरेको छ ।
सदस्य सचिव संन्जेलले पूर्वाधार काम निर्धारित समयमै सकिने उल्लेख गर्दै प्रतियोगिता आयोजनाका लागि संघीय सरकारले तदारुपता देखाउन जरुरी रहेको बताए । ‘प्रतियोगिता आयोजना गर्ने, बजेट बिनियोजन गर्ने संघीय सरकारको काम हो । दशौं राष्ट्रिय खेलकुद आयोजनामा सरकारले बजेटमार्फत सम्बोधन गर्न आवश्यक छ ।’ संन्जेलले भने, ‘हिजोका दिनमा जसरी राष्ट्रिय खेलकुद प्रतियोगिताहरु आयोजना भए, त्यो हिसाबले कर्णाली अहिलेनै प्रतियोगिता गर्न तयार छ ।’
संन्जेलले पूर्वाधार निर्माणको ८० प्रतिशत बढी काम सम्पन्न भैसकेको जानकारी दिदै संघीयतापछि कर्णालीले प्राप्त गरेको खेलकुद पूर्वाधारले यस क्षेत्रमा छुट्टै उत्साह र उमंग ल्याएको बताए । खेलकुद पूर्वाधारको हिसाबले कर्णालीले ठुलो फड्को मार्न लागेको उल्लेख गर्दै सदस्य सचिव संन्जेलले अब प्रदेशको ध्यान खेलाडी उत्पादन, प्रशिक्षण र कार्यक्रम आयोजनातिर केन्द्रित गर्नुपर्ने बताए ।
‘कर्णालीमा अब खेलकुद पूर्वाधारको कमी रहदैन तर प्रदेशले खेलाडी उत्पादन, प्रशिक्षण र कार्यक्रम आयोजनातर्फ ध्यान केन्द्रित गर्नुपर्छ । लगानी त्यता गर्न आवश्यक छ ।’ संन्जेलले भने, ‘अबको १० वर्षपछि हरेक खेलको राष्ट्रिय टिममा कर्णाली प्रदेशको वर्चस्व हुने गरि प्रदेश सरकारले काम गर्नुपर्छ ।’