काठमाडौँ। जितविहीन बागमती प्रदेशलाई पराजित गर्दै कर्णाली प्रदेशले एन्फा महिला लिग छनोटमा दोस्रो जित हासिल गरेको छ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा बिहीबार सम्पन्न खेलमा कर्णालीले बागमतीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
खेलको ४१औँ मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई शुरूआती अग्रता दिलाएकी थिइन्। ४५औँ मिनेटमा सुमित्रा तामाङले गोल गर्दै बागमतीलाई खेलमा फर्काइन्।
तर, पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा ललिता कुमारी भट्टले गोल गर्दै कर्णालीलाई २-१ को अग्रता दिलाइन्।
८९औँ मिनेटमा गरिमा राईले गोल गर्दा कर्णालीले खेलमा ३-१ को अग्रता लिएको थियो। तर, दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा सुनमाया गुरुङले गोल गर्दै बागमतीलाई ३-२ को स्थितिमा ल्याइन्।
त्यसपछि थप गोल हुन नसक्दा बागमतीले पहिलो अंक जोड्ने मौका गुमायो।
जितसँगै कर्णाली दोस्रो स्थानमा उक्लिएको छ। कर्णालील ३ खेलबाट ६ अंक जोडेको छ। बागमती अंकविहीन रहँदै सातौँ स्थानमा छ।