काठमाडौँ। फाफ डु प्लेसिसको आक्रामक इनिङ्सका सँगै रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने लक्ष्यमा रहेको गुजरात टाइटन्सको समीकरण बिगारेको छ। शनिबार सम्पन्न खेलमा बेंग्लोर ४ विकेटले विजयी भएको हो।
गुजरातले दिएको १४७ रनको लक्ष्य पछ्याएको बेंग्लोरल १३.४ ओभरमा ६ विकेट गुमाउँदै १५२ रन बनायो।बेंग्लोरले यो जितबाट खासै फाइदा लिन नसकेपनि गुजरातको समीकरण भने बिगारेको छ। जितसँगै सातौँ स्थानमा उक्लिएको बेंग्लोरले ११ खेलबाट ८ अंक जोडेको छ।
पराजित गुजरात नवौँ स्थानमा झरेको छ। ११ खेल खेलेको गुजरातको ८ अंक छ। बेंग्लोरले आगामी ३ खेल जितेपनि प्लेअफमा पुग्न अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ।
कोलकाता नाइट राइडर्स, लखनउ सुपर जायन्ट्स, सनराइजर्स हैदरावाद र चेन्नइ सुपर किंग्सजस्ता टोलीले बेंग्लोरको लक्ष्य सहज हुन दिने छैनन्।
बेंग्लोरले पञ्जाब किंग्स, दिल्ली क्यापिटल्स र चेन्नईसँग खेल्न बाँकी रहेको छ। यदि बेंग्लोरले ३ वटै खेलमा जित हासिल गर्यो भने अंक तालिका अझ रोचक हुनेछ।
बेंग्लुरुका फाफ डु प्लेसिसले सर्वाधिक ६४ रन बनाए। २३ बल खलका उनले १० चौका र ३ छक्का प्रहार गरे। विराट कोहली ४२ रनमा आउट हुँदा दिनेश कार्तिक २१ र स्वप्रिल सिंह १५ रनमा अविजित रहे।
गुजरातका जोश लिटिल सर्वाधिक ४ विकेट लिए। नूर अहमदको नाममा २ विकेट रह्यो।
त्यसअघि एम चिन्नास्वामी स्टेडियम टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो।
गुजरातका शाहरुख खानले सर्वाधिक ३७ रन बनायो। २४ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे।राहुल तेवतिया ३५, डेविड मिलर ३० र राशिद खान १८ रनमा आउट भए।
बेंग्लुरुका मोहम्मद सिराज, यश दयाल र विजयीकुमार वैशाखको नाममा २/२ विकेट रह्यो। क्यामरुन ग्रिन र कर्ण शर्माको नाममा १/१ विकेट रह्यो।