काठमाडौँ। प्रशिक्षक जोसे माउरिन्होले रोमाप्रतिको वफादारीका कारण गत समरमा साउदीको बम्पर अफर अस्वीकार गरेको बताएका छन्। म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक माउरिन्होलाई गत जनवरीमा रोमाको प्रशिक्षकबाट बर्खास्त गरिएको थियो।
मेरा साथीहरू, परिवार र मेरो एजेन्टले पनि मलाई गत वर्षको युरोपा लिगको फाइनलपछि साउदी जान भनेका थिए। तर, मैले भावनात्मक दृष्टिकोणबाट क्लबलाई धक्का पुग्ने महसुस गरेँ र मैले रोमामा रहनको लागि साउदी अरबको सुविधाजनक प्रस्तावलाई पनि अस्वीकार गरेँ,' उनले टेलिग्राफसँग भने।
माउरिन्होले आफ्नो करिअर अझै लामो रहेको बताए। 'मेरो करिअर अझै लामो छ। म ६१ को भएँ, ६५ वर्षको उमेरमा मेरो करिअर समाप्त हुन्छ भन्ने छैन,' उनले भने।
व्यक्तिगत दृष्टिकोणबाट युनाइटेडसँग आफ्नो सम्बन्ध राम्रो रहेको उनले बताए। तर, व्यावसायिक दृष्टिकोणबाट भने युनाइटेडसँग सम्बन्ध नराम्रो रहेको उनको भनाइ छ।
'जब म म्यानचेस्टर युनाइटेडमा थिएँ, त्यहाँ सबै सामग्री थिएन। एरिक टेन ह्यागलाई जस्तो क्लबबाट मलाई समर्थन थिएन, मसँग यो स्तरको विश्वास थिएन,' उनले भने,'त्यसैले म धेरै दुःखी भएँ। क्लबले मलाई र मेरो अनुभवमा विश्वास गरेको भए चीजहरू फरक हुने थिए। आज पनि त्यहाँ केही खेलाडीहरू छन्, जुन म ५-६ वर्ष पहिले चाहन्नथेँ।'