काठमाडौँ। उपाधि दौडमा रहेको लिभरपुल इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग पराजित भएको छ।
गुडिसन पार्कमा बुधबार राति सम्पन्न खेलमा लिभरपुल घरेलु टोली एभर्टनसँग २-0 गोल अन्तरले पराजित भएको हो।
खेलको २७औँ मिनेटमा जाराड ब्रान्थवेटले गोल गर्दै एभर्टनलाई शुरूआती अग्रता दिलाएका थिए। ५८औँ मिनेटमा डोभिनिक क्याल्भर्ट लेविनले गोल गर्दै खेल २-0 मा पुर्याए।
त्यसपछि लिभरपुल खेलमा फर्किन सकेन र आर्सनललाई उछिन्दै शीर्ष स्थानमा पुग्ने अवसर पनि गुमायो।
जितसँगै १६औँ स्थानमा रहेको एभर्टनले ३४ खेलबाट ३३ अंक जोडेको छ। योसँगै एभर्टनले रेलिगेशनबाट बच्ने सम्भावना बढाएको छ।
रेलिगेशन जोनमा रहेको लुटन टाउनसँग एभर्टनले ८ अंकको अग्रता लिएको छ। पराजित लिभरपुलको समान खेलबाट ७४ अंक रहेको छ। लिभरपुल शीर्ष स्थानको आर्सनलसँग ३ अंकले पछि परेको छ।
दुई खेल कम खेलेको म्यानचेस्टर सिटीको ७३ अंक रहेको छ। सिटी तेस्रो स्थानमा छ।