स्याङ्जा। बाल विद्या र साइन गाउँ वालिङ आठौँ अरहन्त मेमोरियल कपको सेमिफाइनलमा पुगेका छन्।
वालिङ खेल मैदानमा शनिबार सम्पन्न खेलमा भूपू सैनिक चापाकोटलाई हराउँदै बाल विद्या र नेपाल आदर्शलाई हराउँदै साइन गाउँ अन्तिम चारमा पुगेका हुन्।
दिनको पहिलो खेलमा पोल ‘सी’ मा रहेको बाल विद्याले भूपू सैनिकलाई १-० गोल अन्तरले पराजित गर्यो। बाल विद्याका लागि मानस ठकुरीले गरेको गोल नै निर्णायक बन्यो।
जितसँगै बाल विद्याले २ खेलबाट ६ अंक जोड्यो। पहिलो खेलमा बाल विद्याले भूपू सैनिक बेयरघारीलाई १-० गोल अन्तरले नै पराजित गरेको थियो।
यस्तै, दिनको दोस्रो खेलमा पोल ‘बी’ मा रहेको साइन गाउँले नेपाल आदर्शलाई २-१ गोल अन्तरले पराजित गर्यो। साइन गाउँका आयुष अधिकारी र यथार्थ मल्लले गोल गरे। नेपाल आदर्शका आकाश मल्लले गरेको गोल सान्त्वना बनेको थियो।
जितसँगै साइन गाउँले ६ अंक जोड्यो। साइन गाउँले पहिलो खेलमा आर्माडी इन्जिनियर बोर्डिङ स्कुल रामबाछालाई ५-० गोल अन्तरले पराजित गरेको थियो। उक्त खेलमा यथार्थ मल्लले ३ र आयुष अधिकारीले २ गोल गरेका थिए।
यस्तै, दिनको अन्तिम खेलमा पोल ‘डी’ मा रहेको पर्वत इङ्लिस बोर्डिङ स्कुलले भुम्रे माध्यमिक विद्यालय वालिङलाई २-१ गोलले पराजित गर्यो। पर्वतका लागि श्याम परिहारले गोल गरे। भुम्रेका अभिजित कुमारले आत्मघाती गोल गरे। भुम्रेका अभिषेक परिहारले गरेको गोल सान्त्वना रह्यो। जितसँगै पर्वतले ३ अंक जोडेको छ।