काठमाडौँ। काई हावर्ट्जले आफ्नै पूर्वक्लब चेल्सीमाथि दुई गोल गरेसँगै शीर्ष स्थानमा रहेको आर्सनलले इङ्लिस प्रिमियर लिगमा शानदार जित हासिल गरेको छ।
एमिरेट्स स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा आर्सनलले पाहुना टोली चेल्सीलाई ५-० गोलले पराजित गरेको हो।
आर्सनलको जितमा काई हावर्ट्ज र बेन ह्वाइटले २/२ गोल गरे। एक गोल लिओन्ड्र ट्रोसार्डको नाममा रह्यो।
जितसँगै आर्सनलले ३४ खेलबाट ७७ अंक जोडेको छ। एक खेल कम खेलेको लिभरपुल ७४ अंकसहित दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ७३ अंक रहेको छ। सिटीले ३२ खेल मात्रै खेलेको छ।
पराजित चेल्सी ३२ खेलबाट ४७ अंकसहित नवौँ स्थानमा छ। खेलको चौथो मिनेटमै डेक्लान राइसको पासमा ट्रोसार्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। ५२औँ मिनेटमा बेनले गोल गर्दै उक्त अग्रता दोब्बर बनाए।
५७औँ मिनेटमा काईले गोल गर्दा आर्सनले अग्रता ३-० मा पुर्यायो। उनले मार्टिन ओडैगार्डको पासमा गोल गरे। ६५औँ मिनेटमा काईले नै व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरे। उनले बुकायो साकाको पासमा गोल गरेका थिए।
त्यसको ५ मिनेटपछि नै बेनले व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौँ गोल गरे। उनले मार्टिनको पासमा गोल गरेका थिए।