काठमाडौँ। सुनील नारायणको अलराउन्ड प्रदर्शनसँगै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार राति सम्पन्न खेलमा कोलकाताले लखनउ सुपर जायन्ट्सलाई ९८ रनले पराजित गरेको हो। जितसँगै शीर्ष स्थानमा उक्लिएको कोलकाताको ११ खेलबाट १६ अंक रहेको छ।
राजस्थान रोयल्ससँग समान अंक भएपनि नेट रन रेटका कारण कोलकाता शीर्ष स्थानमा छ। राजस्थानले भने एक खेल कम खेलेको छ। पराजित लखनउभने ११ खेलबाट १२ अंक जोड्दै पाँचौँ स्थानमा यथावत् छ।
कोलकाताले दिएको २३६ रनको लक्ष्य पछ्याएको लखनउले १६.१ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो।
लखनउका मार्कस स्टोइनिसले सर्वाधिक ३६ रन प्रहार गरे। २१ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।कप्तान केएल राहुल २५, एस्टन टर्नर १६ र आयुष बडोनी १५ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन।
कोलकाताका हर्षित राणा र वरुष चक्रवर्तीले ३/३ विकेट लिए। आन्द्रे रसेलले २ विकेट लिँदा मिचेल स्टार्क र सुनील नारायणको नाममा १/१ विकेट रह्यो।
त्यसअघि भारत रत्न श्री अटल बिहारी वाजपेयी इकाना क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २३५ रन बनायो।
कोलकाता सुनील नारायणले सर्वाधिक ८१ रन बनाए। ३९ बल खेलेका उनले ६ चौका र ७ छक्का प्रहार गरे।अंगकृष रघुवंशी ३२, फिल साल्ट ३२, कप्तान श्रेयस अय्यर २३ र आन्द्रे रसल १२ रनमा आउट हुँदा रमनदीप सिंह २५ र वेंकटेश अय्यर १ रनमा अविजित रहे।
लखनउका नवीन उल हकले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ४९ रन खर्चिए। यश ठाकुर, रवि बिश्नोई र युद्धवीर सिंह चरकको नाममा १/१ विकेट रह्यो