विराटनगर। चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ।
मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास समिति बर्दिबासलाई ४–१ गोलले हराउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो।
एपीएफका हरि कार्कीले दुई गोल, दिसन राई र धनबहादुर श्रेष्ठले १/१ गोल गरे। बर्दिबासका पवन पाख्रिनले सान्त्वना गोल फर्काए।
जितसँगै एपीएफले पहिलो सेमिफाइनल खेल आइतबार हुने टिडबलुवाइसि विराटनगर र कनकाई स्पोर्टिङ क्लब सुरुङगा झापाबीचको विजेता टिमसँग खेल्नेछ।
एकपक्षीय खेल पस्किएको एपीएफले ११औँ मिनेटमा हरिले गोल गर्दै टिमलाई अग्रता दिए। एपीएफका कप्तान उज्ज्वल चाम्लिङले निकालेको पासलाई हरिले गोलमा परिणत गरे।
पहिलो गोल गरेको एक मिनेट बित्न नपाउँदै दिसनले २५ यार्डबाट गरेको प्रहारले जाली चुम्यो। दोस्रो गोल पनि एपीएफका कप्तान उज्ज्वले पास निकालिदिएका थिए।
२२औँ मिनेटमा हरि कार्कीले गोल गरी अग्रता तेब्बर बनाए। भरत कपालीले कर्नर लाइनबाट निकालेको पासलाई हरिले आकर्षक गोल गरे। दोस्रो हाफको अतिरिक्त समयमा एपीएफका धनबहादुर श्रेष्ठले गोल टिमको जित सुनिश्चित गरे।
खेलको ५५औँ मिनेटमा बर्दिबासका पवन पाख्रिनले सान्त्वना गोल फर्काए। खेलको शुरूआतदेखि आक्रामक खेल पस्किएको एपीएफले अन्तिमसम्म दबाबमा राख्न सफल भयो।
खेलको १६औँ मिनेटमा बडिपले गरेको कडा प्रहार बाहिरियो। ३७औँ मिनेटमा बर्दिबासका कृष्ण मगरको प्रहार पोस्ट माथिबाट बारियो। खेलको म्यान अफ द म्याच एपीएफका हरि कार्की भए। उनले नगद तीन हजार पाए।
प्रतियोगिताको शनिबारको खेल पेमा युवा क्लब विराटनगर र पियर फुटबल क्लब धरान सुनसरीबीच हुनेछ। मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा भएको प्रतियोगितामा प्रदेशस्तरीय ‘ए’ डिभिजनका ८ टिमको सहभागी रहेको अध्यक्ष विष्णु डंगोलले जानकारी दिए।
बैशाख ७ गतेबाट शुरू भएको प्रतियोगिताको फाइनल बैशाख १५ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार एक सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउने खेल संयोजक मनोज खड्काले जानकारी दिए।