काठमाडौँ। माल्कोमको २ गोलप्रेरित अल हिलालले चौथो पटक साउदी सुपर कप जितेको छ। मोहम्मद बिन जायद स्टेडियममा बिहीबार राति सम्पन्न फाइनलमा अल इत्तिहादलाई ४–१ ले हराउँदै हिलालले उपाधि जितेको हो।
हिलालले सन् २०१८, २०२० र २०२१ मा सुपर लिगको उपाधि जितेको थियो। हिलालको जितमा माल्कोमले २ गोल गरे । अल-डावसरी र नासेर अल-दौसारीको नाममा १/१ गोल रह्यो ।
इत्तिहादका अब्देराजक हमदल्लाहले एक गोल फर्काए । खेलको पाँचौँ मिनेटमा अल हिलालले माल्कोमको गोलबाट शुरूआती अग्रता लिएको थियो।
२१औँ मिनेटमा हमदल्लाहले गोल गर्दै इत्तिहादलाई खेलमा फर्काए। तर, ४४औँ मिनेटमा डावसरीले गोल गर्दै हिलाललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए।
८९औँ मिनेटमा माल्कमले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे। दोस्रो हाफको इन्ज्युरी समयको छैटौँ मिनेटमा दौसारीले गोल गर्दै खेल ४-१ मा टुंगाए।