पोखरा। राष्ट्रिय एट ए साइड फोर्टी फाइभ प्लस भेट्रान्स प्रतियोगितामा ढोलाहिटी, हेटौँडा र चितवन भेट्रान्स सेमिफाइनलको यात्रा तय गरेका छन्।
पोखरा रंगशालामा अमरसिंह ब्वाइज क्लबको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न पहिलो खेलमा ढोलाहिटी फ्रीडमले लेक साइड भेट्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा ढोलाहिटीको तर्फबाट राजकुमार केसी र तेज बहादुर झलारीले १/१ गोल गरेका थिए भने लेक साइड भेट्रान्सका शिवबहादुर भट्टराईले सान्त्वना गोल गरेका थिए।
दोस्रो खेलमा हेटौँडा भेट्रान्सले संगम भेट्रान्सलाई ३–० गोल अन्तरले पराजित गर्न सफल भयो। उक्त खेलमा हेटौँडाका जगतमान लामा, विजय श्रेष्ठ र प्रदीप लामाले गोल गरेका थिए।
मंगलबार सम्पन्न अन्तिम खेलमा चितवन भेट्रान र एक्स वारिअरबीच निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि टाई ब्रेकरमा ३–२ गोल गर्दै चितवन भेट्रान्स अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो।
खेलमा चितवन भेट्रान्सका गोलरक्षक छुन्नुराम चौधरी म्यान अफ दी म्याच घोषित भए। चौधरीले एक्स वारिअरका तिलकुमार गुरुङले प्रहार गरेको बल रोक्न सफल भएका थिए।
प्रतियोगितामा बुधबार पहिलो खेल ढोलाहिटी र चितवनबीच र दोस्रो खेल हेटौँडा र आयोजक एबीसीबीच फाइनलको लागि प्रतिस्पर्धा हुनेछ। ९ टोलीको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड र मेडल प्राप्त गर्ने छन् भने उपविजेताले नगद ७७ हजार ७ सय ७७, शिल्ड र मेडल प्राप्त गर्ने आयोजक अमरसिंह ब्वाइज क्लबका सचिव विजय घिमिरेले जानकारी दिए।