धनगढी । चौथों संस्करणको गौरीगंगा गोल्डकप फुटबलको उपाधिमा फाइनल पुगेका दुवै टिमले दाबी प्रस्तुत गरेका छन् ।
बुधबार प्रि–म्याच कन्फरेन्समा दुवै टिमका कप्तानले बिहीबारको फाइनल खेल उपाधिका लागि खेल्ने बताए ।
गौरीगंगा गोल्डकपको फाइनलमा बिहीबार स्टार सिटी ब्वाईज युनियन र फार वेस्ट भिड्दैछन् । पश्चिम नेपालको जिल्ला कैलालीमा भैरहेको प्रतियोगितामा पश्चिम नेपालका १० क्लबहरु सहभागी छन् ।
स्टार सिटी ब्वाईज युनियनका कप्तान कपिल ढकालले टिममा अनुभवी खेलाडीको बर्चस्व रहेकाले उपाधि जित्नेमा ढुक्क भएको बताए । उनले आफ्नो टिम अघिल्लो संस्करणको उप विजेता रहेको उल्लेख गर्दै यस संस्करणको फाइनल उपाधिका लागि खेल्ने उल्लेख गरे ।
‘गत संस्करणको हामी उपविजेता हौं । यो संस्करण उपाधिका लागि खेल्छौं ।’ ढकालले भने ‘टिममा अनुभव खेलाडीको बर्चस्व छ । यसले फाइनलमा सहयोग पुग्नेछ ।’
फार वेस्टका कप्तान अमानत शेखले फाइनल खेलमा उपाधिका लागि उत्रने बताए । टिममा सबै स्थानीय खेलाडी रहेको उल्लेख गर्दै उनले खेलाडीको मनोबल उच्च रहेको बताए ।
‘प्रतियोगितामा अहिलेसम्म हाम्रो यात्रा सुखदनै रह्यो र उपाधिका लागिनै खेल्ने योजना छ । टिममा सबै स्थानीय खेलाडी छन् । त्यसले पनि खेलाडीको मनोबल उच्च छ ।’ शेखले भने ।
गौरीगंगा ११ स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । विधागततर्फका उत्कृष्ट खेलाडीले जनही १५ हजार र सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक गौरीगंगा क्लबका अध्यक्ष दिनेश कलेलले बताएका छन् ।