काठमाडौं । मोफसलमा स्थगित जस्तै रहेको गोल्डकप फुटबल प्रतियोगिताले गति लिएको छ । त्यसैको उदाहरण मकवानपुर गोल्डकप फुटबल आज (बिहीबार)बाट सुरु हुदैछ ।
फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)को विवादका बीच मोफसलको गोल्डकप अनिश्चित जस्तै बनेको थियो ।
मकवानपुर जिल्ला फुटबल संघले आयोजना गर्ने प्रतियोगिता स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको छ ।
चौथो संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा मोफसलका दुई राम्रा टोली बागमती युवा क्लब सर्लाही र नव जन जागृती युवा सिमरा भिड्दैछन् । हेटौडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
खेलको विजेताले क्वाटरफाइनलमा आयोजक टोली विजय युथ क्लब हेटौडासँग खेल्नेछ । जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, नव जनजागुती युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहने छन् ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ ।
अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा मकवानपुर टिम उपविजेता बनेको थियो ।