इटहरी । १२ औ संस्करणको इटहरी गोल्डकपको उद्धघाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मीले जित निकालेको छ ।
इटहरी रंगशालामा भएको खेलमा आर्मीले आयोजक राष्ट्रिय जागृतिविरुद्ध गोल २-१ गोल अन्तरको जित निकालेको हो।
आर्मीलाई जित दिलाउन टेकबहादुर बढाथोकी र भरत खवासले गोल गरे । आयोजकका विजय भुजेलले सान्त्वना गोल फर्काए । खेलको सुरुवाती अग्रता आर्मीले लिएको थियो । खेलको २९ औं मिनेटमा टेकबहादुरले अग्रता दिलाए ।
त्यसको १० मिनेट नवित्दै भरतले अग्रता दोब्बर बनाए । राष्ट्रिय खेलाडीले भरिएको आर्मीविरुद्ध दोश्रो हाफको २३ औं मिनेटमा विजयले सान्त्वना गोल फर्काए । पहिलो हाफमा फितलो प्रर्दशन गरेको आयोजकले दोश्रो हाफमा आर्मीमाथि दबाब सृजना गरेपनि जित निकाल्न सकेन् । आर्मीको एक पछि अर्को प्रहारलाई आयोजकका गोलरक्षकले निस्तेज बनाएपछि गोल अन्तर कम भएको हो ।
खेलपछि बोल्दै आर्मीका प्रशिक्षक नविन न्यौपानेले पहिलो हाफको योजना सफल भएकाले जित निस्किएको बताए । उनले पहिलो हाफमा २–० को अग्रता बनाउनु नै जितको आधार भएको बताए । दोश्रो हाफमा विपक्षी टोलीविरुद्ध सहज खेल्दा गोल व्यहोर्नुपरेको उनले बताए । उनले सेमीफाइनलमा टोलीको पहिलो रोजाईमा नवयुग श्रेष्ठ समेत रहने बताए ।
आयोजक टोलीका प्रशिक्षक सुरेन्द्र तामाङले आफ्ना खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गरेको बताए । उनले स्थानीय स्तरका खेलाडीहरु सम्मिलित आयोजक टोलीले दबाब बनाउन सफल भएको बताए ।
तामाङले रेफ्री र लाइन्समेन विचको तालमेल अभाव देखिएको बताए ।
‘ रेफ्रीको संकेत र लाइनमेनको संकेत नै फरक देखिन्थ्यो,’ तामाङले भने ‘ सेट टिम विरुद्ध दवाव सृजना गर्नु सफलता मानेका छौ ।’
प्रतियोगिता अन्तर्गत दोश्रो क्वाटरफाइनल खेलमा मनाङ मर्स्याङ्दीले पाहुना टोली भारतको कञ्चनजंघा एफसीसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले उद्धघाटन गरेका थिए । उद्घाटन खेलमा करिब २ हजार दर्शक रहेको आयोजकको दाबी छ ।
राष्ट्रिय जागृति क्लब इटहरीको आयोजना शुरु भएको प्रतियोगिता चैत्र २६ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजक कन्ट्रोल लुब्रिकेन्ट रहेको प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए ।