पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अहिले मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङ र आर्मीले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा मनाङका कप्तान विमल रानाले पेनाल्टीमा गोल गर्न सकेनन् ।
खेलको नवौं मिनेटमा प्राप्त पेनाल्टीमा विमलले बाहिर प्रहार गरे ।
आर्मीका डिफेन्डर युद्द शाहीले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो ।
आर्मीले पनि पहिलो हाफमा पएको केहि मौकालाई सदुपयोग गर्न सकेनन् ।
आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
मछिन्द्र फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ । फाइनल शनिबार हुनेछ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।
त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।