पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा अहिले मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्र र एपीएफले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलको २५ औं मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । उनले मणि लामाको फ्रि-किकमा हेडरमार्फत गोल गरेका हुन् ।
तर, खेलको ४० औं मिनेटमा ओमोलाजा करिमले गोल गर्दै मछिन्द्रलाई १-१ को बराबरीमा ल्याएका थिए । उनले कप्तान रंजित धिमालको फ्रि-किकमा हेडरमार्फत गोल गरेका हुन् ।
आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
मछिन्द्रले साविक विजेता संकटा क्लबलाई ४-१ गोल अन्तरले हराएर एपीएफसँगको भेट पक्का गरेको हो । मछिन्द्र पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।
एपीएफले बीवाईएससी मिनेसोटा युएसएलाई ३-१ गोल अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।
त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।