काठमाडौं । फेरि एकपल्ट सिद्ध भएको छ, प्रशिक्षकलाई वर्खास्त गर्नकै लागि नियुक्त गरिन्छ । वाटफोर्डले भर्खरै आफ्ना व्यवस्थापक क्लाउडियो रेनेरीलाई बर्खास्त गरेको छ । खासमा भन्दा वाटफोर्डले यी इटालीका प्रशिक्षकलाई पर्याप्त समय नै दिएन । उनले खालि १ सय १२ दिन मात्र क्लब सम्हाल्ने अवसर पाए ।
यसबीच उनको नेतृत्वमा वाटफोर्डले सात अंक मात्र बटुल्न सकेको थियो । वाटफोर्ड लिगका पछिल्ला आठ खेलमध्ये सातमा पराजित रहेको छ । सबै खाले प्रतियोगितामा वाटफोर्डले नौ खेलयता जित निकाल्न सकेको छैन् । सन् २०१३ यता क्लबको यो सबैभन्दा खराब जितहीन यात्रा हो, यस्तोमा क्लबका मालिक पिजो परिवारलाई लाग्यो, अब त केही गर्नु पर्छ ।
रेलिगेसनबाट बच्न संघर्षरत अर्को क्लब नरविचको हातबाट गत साता ३–० को हार बेहोरेपछि रेनेरी वर्खास्तीमा पर्नेछन् भने अडकल सुरु भएको थियो । नभन्दै त्यस्तै भयो । त्यस खेलपछि रेनेरी भन्दै थिए, ‘मलाई भविष्यको चिन्ता छैन् ।’ तर क्लबले भने अहिले भनेको छ, जति काम गरेका छौं, त्यसका लागि धन्यवाद ।
प्रिमियर लिग अहिले लगभग मध्य भागमा पुगेको छ, अझ त्यस भन्दा अगाडि । यसबीच आठ प्रशिक्षकले वर्खास्तीको सामना गर्नु परेको छ । यसमा दुई त वाटफोर्डकै भए, रेनेरी र सिको मुनोज । अन्यमा न्युकासलका स्टिभ ब्रुस, टोटनहमका नुनो सान्टो, नरविचका ड्यानिएल फारके, एस्टन भिललका डिन स्मिथ, म्यानचेस्टरका ओले गन सोल्सार र एभरटनका राफेल बेनिटेज ।
–बीबीसीको सहयोगमा ।