काठमाडौं । कतार एयरवेज सहिद स्मारक लिग ए डिभिजन ०७८ को आठौं चरणको समाप्तीमा उपाधिको होड अब ‘टु हर्स रेस’ भएको छ ।
अर्थात उपाधिका लागि दुई टिमबीच प्रतिस्पर्धा चल्ने छ र ती हुन्, डिफेन्डिङ च्याम्पियन मछिन्द्र र मनाङ मर्स्याङ्दी ।
मछिन्द्रको २० अंक छ भने मनाङको १९ । त्यसपछि दुई टिम समान १४ अंकमा रहेका छन्, संकटा र आर्मी ।
त्यस अर्थमा संकटा र आर्मी दुवै टिम शीर्ष स्थानमा रहेको मछिन्द्रबाट छ अंकको दूरीमा छन् । यी दुई टिमको मनाङसँगको दूरी भने पाँच अंक छ ।
लिगमा पाँच चरणका खेल मात्र बाँकी रहेको स्थितिमा यो अन्तरलाई काम गर्न केही नाटकीय नतिजा चाहिनेछ ।
सातौं र आठौं चरणको अंक तालिकामा खालि एकै फरक मात्र रह्यो, अन्यथा सबै समान स्थानमा कायम रहे ।
थ्री स्टारले हिमालयन शेर्पालाई हराएपछि जहाँ थ्री स्टार पाँचौं स्थानमा उक्लिन सफल रह्यो, त्यहीं हिमालयन भने छैटौं स्थानमा झरेको थियो ।
अब थ्री स्टारले शीर्ष चार भित्र प्रवेशका लागि आफ्नो चुनौती पेस गर्न सक्नेछ ।
लिगमा अब थ्री स्टार ‘गेम चेन्जर्स’ हुन सक्छ, किनभने उसले मछिन्द्र, मनाङ र संकटा तीनै टिमविरुद्ध खेल्न बाँकी छ।
लगातार तेस्रो चरणमा च्यासल र फ्रेन्ड्स अन्तिम दुई स्थानमा रहे । फ्रेन्ड्स आठौं चरण आइपुग्दा पनि जितहीन एकै टिम मात्र रहेको छ ।
अहिलेसम्म अपराजित टिम भने तीन नै रहेका छन्, मछिन्द्र, संकटा र आर्मी । संकटा र आर्मीले समान पाँच पाँच बराबरी खेलेका छन ।
एकै खेल मात्र गुमाउने दुई टिम रहे, मनाङ र थ्री स्टार ।