इलाम । इलाम जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत छैटौ दिनको खेलमा माईभ्याली, त्रिवेणी र रेडहर्ष बिजयी भएका छन् ।
इलामको ठुलो टुडिखेलमा जारी प्रतियोगिताको पहिलो खेलमा माईभ्याली फुटबल क्लबले क्लब ओएसिसलाई २–१ गोल अन्तरले पराजित गर्दै महत्वपुर्ण ३ अंक बटुल्न सफल रहयो । खेलमा अग्रता ओएसिसले लिएको थियो । २२ औ मिनेटमा दावा लामाले अग्रता दिलाएका थिए । तर ३५ औ मिनेटमा अनुस राई र ५३ औ मिनेटमा सन्दिप सुब्बाले गोल गरेपछि ३ जीत र २ बराबरीसंगै ११ अंकको साथ माईभ्याली शिर्ष स्थानमा उक्लिएको छ । पराजित बनेको ओएसिस शिर्ष स्थान गुमाउँदै चौथो झरेको छ ।
त्यसैगरी दोश्रो खेलमा त्रिवेणी युवा क्लबले हेलिबोथ क्लबमाथि ३–१ गोल अन्तरको जीत दर्ता गर्न सफल रहयो । त्रिवेणीलाई जीत दिलाउन स्वदेशचन्द्र मगर, हेम सागर राई र प्रमोद घिमिरले गोल गरे । खेलको २२ औ मिनेटमा स्वदेशले सुरुवाती अग्रता दिलाए । ४१ औ मिनेटमा सागरले अग्रता दोब्बर बनाए । ६३ औ मिनेटमा प्रमोदले अग्रता ३–० बनाए । एक मिनेट नवित्दै हेलिबोथका दिवस राईले सान्तवना गोल फर्काए ।
जितसंगै ५ खेलबाट ३ जितर १ बराबरी निकाल्दै १० अंकको साथ त्रिवेणी दोश्रो स्थानमा उक्लिएको छ । लिगको ५ वटै खेलमा पराजय व्यहोरेको हेलिबोथ रेलिगेसन जोनमा रहेको छ ।
सोमबारको अन्तिम खेलम रेडहर्ष क्लबले हेल्लो जसबीरेलाई २–१ गोल अन्तरले हराउँदै ३ अंक बटुल्यो । रेडहर्ष क्लब ५ खेलबाट २ जित र ३ बराबरीसंगै ९ अंकको साथ तेश्रो स्थानमा उक्लिएको छ । उसले गोल अन्तरको आधारमा क्लब ओएसिसलाई पछि पारेको हो । पराजयसंगै जसबीरे रेलिगेसनमा पर्ने सम्भावना प्रवल देखिएको छ । उसले ५ खेलमा १ मात्र जित निकाल्दै ३ अंक बटुलेको छ ।
५ खेलबाटै २ जित र २ बराबरीसंगै ८ अंकको साथ देउराली स्पोर्टिङ क्लब पाँचौ स्थानमा छ । प्रतियोगिताको अन्तिम चरणको खेलमा त्रिवेणी युथ क्लब र देउराली क्लब पहिलो खेलमा भिड्दैछन् । त्यसैगरी रेडहर्ष र क्लब ओएसिस तथा हेलिबोथ र हेल्लो जसबीरे भिड्दैछन् ।
भोलीका सुरुवाती २ खेल उपाधि छिनोफानो र शिर्ष ३ का लागि हुनेछ । त्यसैगरी अन्तिम खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।