काठमाडौं । सबैले भन्छन्, एक दिन स्टेफन जेरार्ड लिभरपुलका व्यवस्थापक हुनेछन् ।
भर्खरै उनी एस्टन भिल्लाका व्यवस्थापक नियुक्त भएका छन् । भिल्लाले डिन स्मिथलाई बर्खास्त गरेपछि उनले अवसर पाएका हुन् । यसका लागि जेरार्डले रेन्जर्स छाडेका थिए । भिल्लासँग उनले साढे तीन वर्षको अनुबन्ध गरेका छन् ।
अनि भन्ने के पनि भन्छन् भने भिल्ला त खालि भर्याङ मात्रै हो, जेरार्डका लागि । उनी यही भर्याङ चढेर केही वर्षमा लिभरपुल जानेछन् । यसमा जेरार्ड आफै भने विमति राख्छन् र भन्छन्, ‘यस्तो केही होइन् । भिल्लालाई भर्याङ भन्नु गलत छ । म भिल्लाप्रति शतप्रतिशत समर्पित छुं र हुनेछुं ।’
यी ४१ वर्षीय लिभरपुल लेजेन्डको भाषामा भन्दा भिल्लालाई खालि भर्याङ भन्नु यो क्लबप्रति अन्याय नै हो । भिल्लामा काम गर्न पाउनु पनि उनका लागि गर्वको उपलब्धी हो । इंग्ल्यान्डका पूर्व कप्तान समेत रहेका जेरार्डले लिभरपुलका लागि ७ सय १० खेल खेले, १ सय ८६ थोल गरे ।
उनले १७ वर्ष एनफिल्डमा बिताए, अनि आठ ठूला प्रतियोगिता जिते ।
त्यसमा एक त सन् २००५ को चमत्कारीपूर्ण युरोपेली च्याम्पियन्स लिग उपाधि पनि हो ।
यस्तोमा जेरार्ड भन्छन्, ‘कुनै दिन फेरि लिभरपुलमा फर्कने मेरो सपना गलत छैन्, तर अहिले त्यता योर्गन क्लोपका रूपमा निकै राम्रा प्रशिक्षक छन् । लिभरपल अहिले क्लोपमा खुसी छ । यदी लिभरपुलले क्लोपसँग आजीवन समयका लागि अनुबन्ध गर्छ भने पनि त्यसमा म खुसी हुनेछुं ।’