काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतमा आयोजना हुने एएफसी महिला एसियन कप-२०२२ मा छनोट हुने लक्ष्य लिएको छ ।
छनोट खेलका लागि उज्वेकिस्तान प्रस्थान गर्नु अघि नेपाली टोलीका खेलाडीले एसियन कपमा छनोट भएर फर्कने बताएका छन् । नेपाली टोली सोमबार राति त्यसतर्फ प्रस्थान गरेका छन्।
नेपाली टोलीका कप्तान रेनुका नगरकोटीले उज्वेकिस्तानमा टिमको मुख्य लक्ष्य छनोट हुनु रहेको बताईन् ।
'हाम्रो लक्ष्य भनेको छनोट भएर आउने नै हो । छनोट हुनलाई हामीले कडा प्रतिस्पर्धा गर्नु पर्छ । वरीयता हेर्ने नै हो भने हामी भन्दा राम्रो टिम छ । तर, वरीयता हेरेर हामीले निराश हुनु पर्ने छैन । हामीले राम्रो वरीयताको टिमलाई हराईसकेका छौँ,' नगरकोटीले भनिन्, 'त्यसैले उज्वेकिस्तानमा कडा प्रतिस्पर्धा गरेर छनोट भएर आउने लक्ष्य छ ।'
छनोटको समूह 'एफ' मा रहेको नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।
नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल असोज २ गते हुनेछ ।
छनोटको तयारीका लागि नेपाली टोलीले बंगलादेशी टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । त्यहिँ खेलले नेपाली टोलीको कमजोर र बलियो पक्ष बुझेको कप्तान नगरकोटीले बताईन् ।
'हामीले दुई मैत्रीपूर्ण खेल खेल्यौं । त्यस खेलले हाम्रो तयारीलाई मद्दत पुर्राएको छ । हाम्रो कमीकमजोरी र बलियो पक्ष मैत्रीपूर्णबाट बुझेका छौँ । हामीले गल्तिहरु सुधारेर खेल्ने छौँ,' उनले भनिन् ।
नगरकोटीले टिमका सबै नयाँ खेलाडीहरु राम्रो भएको समेत बताईन् ।
'राष्ट्रिय टिममा सबै खेलाडी राम्रो छन् । उज्वेकिस्तानमा उनीहरुले आफ्नो कमीकमजोरी सुधार्ने छन् । उज्वेकिस्तानमा राम्रो गर्ने छौँ,' रेनुकाले भनिन् । नेपाली टोलीमा ७ नयाँ अनुहार रहेका छन् ।
नेपाली टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले छनोट नेपालको लागि चुनौती र मौका रहेको बताए । नेपाली टोलीले मौकालाई सदुपयोग गर्ने उनले बताए ।
'हाम्रो लागि यो सुनौलो मौका हो । तर, हामीले दुई खेल जित्नु पर्छ । एक खेलको जितले पुग्दैन,' प्रशिक्षक ग्यारीले भने ।
प्रशिक्षक ग्यारीले उज्वेकिस्तानको गर्मी मौषमले भने खेलमा असर पार्ने बताए ।
नेपाली टोलीका मिडफिल्डर प्रिती राईले उज्वेकिस्तानमा नेपालले आफ्नो असली खेल देखाउने बताईन् । उनले टिमको लक्ष्य एसियन कप छनोट हुनु रहेको बताईन् ।
'दुई मैत्रीपूर्ण खेल खेल्यौं । त्यसले गर्दा हाम्रो मनोबल बढेको छ । हाम्रो असली खेल एसियन कप हो । एसियन कप छनोट हुने राम्रो लक्ष्य हो । त्यसको लागि मेहेनत गर्ने छौँ,' उनले भनिन् ।
यस्तै नेपालले दोस्रो खेलमा असोज ५ गते हङकङको सामना गर्नेछ ।
यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ मा हुनेछ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।
एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।