काठमाडौं । आजदेखि युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजन सुरु हुँदैछ र सुरुमा हुनेछ, लिग चरणका खेल ।
कुल ३२ टिमलाई आठ समूह विभाजन गरिएको छ । यस्तोमा प्रत्येक समूहमा चार चार टिम छन् र तिनले एक अर्काविरुद्ध दुई पल्ट खेल्नेछ, ‘होम’ र ‘अवे’ का रूपमा ।
क्लब फुटबलको प्रतियोगितामध्ये यसलाई सबैभन्दा अब्बल दर्जाको मानिन्छ ।
द गार्डियनको मद्दतबाट खेलपाटीले तिनै प्रत्येक समूहको विश्लेषण गरेको छ ।
सँगै अनुमान गरिनेछ, प्रत्येक समूहको पहिलो र दोस्रो स्थानमा आउने टिम कुन कुन हुनेछन् । अनि तेस्रो र चौथो स्थानमा चाहिं कुन कुन टिम आउने छन् ।
समूह ‘ए’
यो समूह आफैमा निकै कठिन छ, किनभने यसमा त्यस्ता दुई टिम छन्, जसले पछिल्ला दुई सिजन फाइनल खेलेका थिए ।
यस्तो भनेको म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) । सँगै दुई वर्ष अगाडि सेमिफाइनल खेलेको आरबी लाइपजिग पनि यसै समूहमा छ ।
पछिल्लो सिजनको सेमिफाइनलमा सिटी र पीएसजी भिडेका थिए ।
निकै धनी मान्न मिल्ने यी दुई क्लबको त्यस भिडन्त सिटीको पक्षमा रह्यो ।
समूह चरणमा सिटीले विरलै समस्या बेहोर्ने गरेको छ । उसका लागि नकआउट चरण नै समस्या हुने गरेको छ, पेप ग्वार्डिओला आएयता पनि ।
पीएसजी पनि आफैमा बलियो भएको छ, लियोनल मेस्सी आएयता ।
सायद लाइपजिग यसअघिको सिजनमा जस्तो बलियो छैन् ।
समूहमा स्थानको अनुमान : १. म्यानचेस्टर सिटी, २. पीएसजी, ३. आरबी लाइपजिग र ४. क्लब ब्रुग ।
समूह ‘बी’
समूह ‘बी’ मा त्यस्ता तीन टिम छन्, जसको परिचय पूर्व विजेता रहेको छ ।
अनि एक यस्तो टिमले जसले तीन पल्ट फाइनलमा हार बेहोरेको छ । एटलेटिको मड्रिडले गत सिजन रियल मड्रिड र बार्सिलोनामा रहेको कमजोरीको फाइदा उठाएर स्पेनी ला लिगा जितेको थियो ।
तर युरोपमा एटलेटिकोको पछिल्लो प्रदर्शन उत्कृष्ट रहने गरेको छैन् ।
लिभरपुलले गत सिजन राम्रो गर्न सकेन, किनभने उसका अधिकांस खेलाडी घाइते थिए ।
अब प्रश्न हुनेछ, के यो संयोग मात्रै थियो कि प्रवृत्ति ? गत सिजन पोर्टोले युभेन्ट्स र च्याम्पियन बनेको चेल्सी जस्ता टिमलाई हराएको थियो ।
एसी मिलान भने सन् २०१४ यता पहिलो पल्ट च्याम्पिन्स लिगमा खेल्दैछ ।
समूहमा स्थानको अनुमान : १. लिभरपुल, २. एटलेटिको, ३. पोर्टो र ४. मिलान ।
समूह ‘सी’
सम्भवत: सबै भन्दा खुल्ला समूह हो, यो ।
गत सिजन स्पोर्टिङ लिस्वनले घरेलु लिग जितेको थियो, १९ वर्षयता । यो आफैमा ठूलो उपलब्धी थियो ।
बोरुसिया डर्टमुन्डमा नयाँ प्रशिक्षक आएका छन्, मार्को रोजका रूपमा ।
उनले रेडबुल साल्सबर्ग र बोरुसिया मोन्छेनग्लाडबाखमा जे जति राम्रो गरेका थिए, त्यति नै यसपल्ट डर्टमुन्डमा गर्न गाह्रो छ ।
यस्तो किनभन्दा डर्टमुन्ड आफै आर्थिक संकटबाट गुज्रिरहेको छ ।
आयाक्सले गत सिजनको घरेलु लिग १६ अंकको स्पष्ट अग्रतासहित जितेको थियो र यसपल्ट लगभग उनी खेलाडीको टिम रहेको छ ।
प्रशिक्षक एरिक टेन हागलाई क्लबमै राख्न सक्नु पनि आयाक्सको सफलता नै हो । टर्कीको च्याम्पियन बेसिकटास चार वर्षको अन्तरमा च्याम्पियन्स लिग खेल्दैछ ।
समूहमा स्थानको अनुमान : १. डर्टमुन्ड, २. आयाक्स, ३. स्पोर्टिङ र ४. बेसिकटास ।
समूह ‘डी’
यो समूहमा त्यस्ता तीन टिम छन्, जसले पछिल्लो सिजन पनि यही प्रतियोगिताको लिग चरणमा एक आपसविरुद्ध खेलेका थिए ।
त्यति बेला इन्टर मिलान तेस्रो र साख्तर डोनेस्क चौथो स्थानमा रहेको थियो । यसपल्ट पनि रियल मड्रिडले सजिलै लिग चरण काट्ने अनुमान गर्न सकिन्छ ।
तर रियलका लागि मुख्य चुनौती एकनासे प्रदर्शन गरेको छ ।
गत सिजन इन्टर मिलानले सन् २०१० यता पहिलो पल्ट इटालीको सिरी ए जितेको थियो । तर अहिले टिममा न त प्रशिक्षक एन्टोनियो कोन्टे रहेको छ, न त प्रमुख खेलाडी रोमेलु लुकाकु ।
प्रशिक्षणको जिम्मा सिमोनी इन्जाघीको काँधमा छ । सेरिफले पहिलो पल्ट मोल्डेभाको प्रतिनिधित्व गरेर च्याम्पियन्स लिग खेल्दैछ ।
समूहमा स्थानको अनुमान : १. रियल मड्रिड, २. इन्टर, ३. साख्तर र ४. सेरिफ ।
समूह ‘ई’
बायर्न म्युनिखका लागि यो समूह सजिलो हुन सक्नेछ, भलै यसमा तीन पूर्व विजेता र एक पूर्व सेमिफाइनल खेलेको टिम रहेको छ ।
बार्यनले पछिल्लो समय बार्सिलोनाको सामना गर्दा ८–२ को अविश्वसनीय जित निकालेको थियो । तय के छ भने बार्यनले यसपल्ट लगातार दसौं पल्ट घरेलु बुंडेसलिगा जित्ने छ ।
त्यसैले बायर्नको वास्तविक परीक्षा च्याम्पियन्स लिगमै हो ।
सन् २००३ यता बार्सिलोनाले लियोनल मेसीविना च्याम्पियन्स लिग खेल्दैछ । बार्सिलोना आफै पनि ठीक समयबाट गुज्रिरहेको छैन् ।
यो समूहमा शीर्ष दुई स्थानका लागि भिडन्त हुने बायर्न र बार्सिलोनाबीच नै हो । डायनाको किभ र बेनफिकाको खासै सम्भावना छैन्, भलै उनीहरू आ–आफ्नो घरेलु लिगमा बलियो छन् ।
समूहमा स्थानको अनुमान : १. बायर्न म्युनिख, २. बार्सिलोना, ३. डायनामो किभ र ४. बेनफिका ।
समूह ‘एफ’
गत सिजन म्यानचेस्टर युनाइटेड समूह चरणबाटै बाहिरिएको थियो । तर यसपल्ट यस्तो नहोला, किनभने यसपल्टको टिम फेरिएको छ ।
टिममा आएका छन्, राफेल भराने, जाडोन सान्चोदेखि लिएर क्रिस्टियानो रोनाल्डोसम्म । म्यानचेस्टरले हेलचक्राइ गर्न सक्ने समूह भने होइन्, यो ।
भिल्लारियल गत सिजन स्पेनी ला लिगाको सातौं स्थानमा थियो ।
तर यो युरोपेली क्लब प्रतियोगितामा महारथ प्राप्त क्लब हो ।
युरोपा लिगको फाइनलमा यही भिल्लारियलले म्यानचेस्टरलाई हराएको थियो । एटलान्टा पनि आफैमा बलियो छ, इटालीको घरेलु फुटबलमा यो शक्तिका रूपमा अगाडि आइरहेको छ ।
यो समूहको चौथो टिम योङ ब्वाइजको काम सायद आफ्नो उपस्थिति मात्र जनाउने हुनेछ ।
समूहमा स्थानको अनुमान : १. म्यानचेस्टर युनाइटेड, २. एटलान्टा, ३. भिल्लारियल र ४. योङ ब्वाइज ।
समूह ‘जी’
यो समूहमा त्यस्ता टिम छन्, जसको नाम हेरेर यसलाई प्रतियोगिताकै सबैभन्दा कमजोर टिम मान्न सकिन्छ, यो समूहमा खासै ठूला नाम कुनै पनि छैन् ।
यो अर्थमा यस टिमका चार टिम भाग्यमानी पनि छन् ।
अनि भन्न सकिन्छ, यसै कारण यो समूहमा चर्को प्रतिस्पर्धा पनि हुनेछ, समान खाले टिम भएको नाताले ।
यो समूहमा लिलेलाई वरीयताका बेला ‘पट वान’ प्राप्त भएको थियो, तर यो नै सबैभन्दा कमजोर टिम हो ।
युरोपा लिग जितेपछि सेभिया पनि आफैमा कमजोर छ, किनभने उसले स्पेनी लिगमा सातौं स्थान मात्र हात पार्न सकेको थियो, पोहोर सिजन ।
यस्तै कथा जर्मन प्रतिनिधि उल्भ्सबर्गको पनि रहेको छ । सायद यो समूहको सबैभन्दा बलियो टिम नै आरबी साल्जबर्ग हो ।
समूहमा स्थानको अनुमान : १. साल्जबर्ग, २. सेभिया, ३. उल्भ्सबर्ग र ४. लिले ।
समूह ‘एच’
गत सिजन जेनिथले रुसी लिगमा तीन खेल मात्र गुमायो र सजिलै लिग उपाधि जित्यो ।
यो उसले लिग जितेको लगातार तेस्रो अवसर हो । तर पनि समूह ‘एच’ मा उसको सम्भावना कमै छ, भलै चेल्सी र युभेन्ट्सले रुसी प्रतिद्वन्द्वीलाई कमजोर आँक्न मिल्दैन ।
खासमा यो समूह हो, डिफेन्डिङ च्याम्पियन चेल्सीको ।
चेल्सी पोहोर सिजनको तुलना अझ बलियो भएको छ, विशेषत: रोमेलु लुकाकुको आगमनका कारण ।
त्यसैले अनुमान गर्न सकिन्छ, चेल्सीलाई यो समूहमा केही गाह्रो हुने छैन् । तर यसको ठीक विपरित क्रिस्टियानो रोनाल्डो गएयता युभेन्ट्स पहिलोको जस्तो टिम रहेन् ।
तर पनि स्तरीयताको आधारमा युभेन्ट्स माथि नै छ ।
समूहमा स्थानको अनुमान : १. चेल्सी, २. युभेन्ट्स, ३. जेनिथ र ४. माल्मो ।