एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज (बुधबार) राति इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ ।
वेम्बली स्टेडियममा इंग्ल्यान्ड र डेनमार्कबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
आज इंग्ल्यान्ड र डेनमार्क फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई ठुला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।
इंग्ल्यान्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४-० गोलको सानदार जित निकाल्दै अन्तिम चारमा पुगेको हो । यस्तै राउण्ड अफ १६ मा इंग्ल्यान्डले उपाधि दाबेदार जर्मनीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्ड यस पटक अर्को इतिहास रच्ने योजनामा रहेको छ ।
'हामीले राम्रो अवसर पाएका छौँ । यो इतिहास बनाउने मौका हो । किनकी हामी युरोपियन च्याम्पियनसिपको फाइनल पुगेका छैनौँ,' इंग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट भन्छन्, 'टोलीलाई धेरै दबाब छैन । यो टोलीका लागि अवसर हुनेछ ।'
डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो । त्यसअघि डेनमार्कले भने प्रि-क्वाटरफाइनलमा वेल्सलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।
डेनमार्क घरेलु टोलीलाई स्तब्ध बनाएर अघि बढ्न चाहन्छ । तर, डेनिस प्रशिक्षक कास्पर घरेलु टोलीलाई हराउँन कठिन हुनेमा जानकार छन् ।
'यो हाम्रो लागि अवे खेल जस्तै हुनेछ । तर, हामी यस खेलका लागि हेरिरहेका छौँ । हाम्रो मोटिभेसन दर्शकलाई चुप बनाउनु हुनेछ । तर, हामीलाई थाहा छ यो कठिन हुनेछ,' कास्परले भने ।
इंग्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ ।