एजेन्सी । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई युरोकपको फाइनल हेर्न निमन्त्रणा दिएको छ ।
युरोकप अन्तर्गत फिनल्याण्डविरुद्धको खेलमा हृदयघात भएर मैदान बेहोस भएका एरिक्सनलाई यूईएफएले फाइनल हेर्न निमन्त्रणा दिएको हो ।
यूईएफएले मैदानमा पुगेर तत्काल उपचार गर्दै एरिक्सनको ज्यान बचाउन सफल स्वास्थ्यकर्मीको टोलीलाई समेत फाइनल हेर्न निमन्त्रणा दिएको छ ।
इंग्ल्यान्डको वेम्बलीमा हुने फाइनल खेल आगामी आइतबार राति हुनेछ ।
पहिलो खेलमै हृदयघात भएपछि एरिक्सनले युरो गुमाएका थिए । एरिक्सनको टिम डेनमार्क सेमिफाइनल प्रवेश गरिसकेको छ ।
फिनल्याण्डविरुद्ध ४३ औं मिनेटमा एरिक्सन अचेत भएर मैदानमा ढल्न पुगेका थिए । इन्टर मिलानका २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । उक्त खेलमा डेनमार्क १-० ले पराजित भएको थियो ।
एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) समेत जडान गरिएको छ ।