एजेन्सी । इंग्ल्यान्डका युवा विंगर जेडन सान्चो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका छन् ।
जर्मन क्लब बोरुसिया डर्टमण्डले बिहीबार विंगर सान्चो युनाईटेडमा अनुबन्धित भएको पुष्टि गरेको छ ।
डर्टमण्डका सीईओ हान्स जोआचिमले ७३ मिलियन पाउण्डमा सान्चो युनाईटेड गएको पुष्टि गरे ।
'सान्चोका लागि म्यानचेस्टर युनाइटेडसँग सम्झौता भएको छ । हामी उसलाई राख्न चाहन्थ्यौं । हामी पैसाको बारेमा खुशी छैनौँ तर दुखि उसले छाडेकोमा छौँ,' हान्सले भने ।
यस्तै डर्टमण्डले स्टक एक्सचेन्जलाई समेत सान्चोले क्लब छाडेको जानकारी गराएको छ ।
२१ वर्षीय विंगरले युनाईटेडसँग पाँच वर्षको सम्झौता गर्ने बताईएको छ ।
वाटफोर्डको एकेडेमीबाट सुरुवाती फुटबलको कला सिकेका सान्चो २०१५ मा म्यानचेस्टर सिटीको एकेडेमीमा आबद्द भएका थिए ।
दुई वर्ष सिटीको एकेडेमीमा बसेर सान्चो २०१७ मा डर्टमण्ड पुगेका थिए । सान्चोले २०१७ को सिजन फ्रान्कफर्टविरुद्धको खेलबाट डर्टमण्डको सिनियर टिममा डेब्यु गरेका थिए । उनले २०१८ को अप्रिलमा बायर लिवरकुसेनविरुद्धको खेलमा डेब्यु गोल गरेका थिए । त्यसयता उनी डर्टमण्डको महत्वपूर्ण खेलाडीको रुपमा रहदै आएका थिए ।
सान्चोले डर्टमण्डका लागि १ सय ३७ खेलमा ५० गोल गरेका छन् । उनको नाममा ५७ असिस्ट समेत रहेको छ ।
सान्चोले इंग्ल्यान्डका लागि २० खेलमा ३ गोल गरिसकेका छन् । नेसन्स लिग अन्तर्गत २०१८ मा क्रोएसियाविरुद्ध उनले इंग्ल्यान्डको लागि डेब्यु गरेका थिए ।
सन् २०१७ मा इंग्ल्यान्ड यू-१७ को विश्वकप जित्दा सान्चो टिममा महत्वपूर्ण सदस्य थिए ।
जारी १६ औं संस्करणको युरोकपमा भने उनले मात्र एक खेल खेलेका छन् ।