काठमाडौं । पहिलो फ्रेन्चाईच फुटबल नेपाल सुपर लिग (एनएसएल) को लिग चरणका खेल समाप्त भएका छन् । चौधरी ग्रुपको नेपाल स्पोर्टस् म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको एनएसएलमा सात टिम सहभागी थिए ।
विभिन्न व्यापारिक घराना रहेको लिगमा पूर्वबाट विराटनगर सिटी एफसी, आईएमी ग्रुपको एफसी चितवन, यामाहाको काठमाडौं रेजर्स एफसी, भाटभटेनी सुपरमार्केटको ललितपुर सिटी एफसी, लक्ष्मी हुन्डाईको पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र सुदुरपश्चिमको धनगढी एफसी सहभागी छन् ।
सिंगल राउण्ड रोविनका २१ खेल आईतबार समाप्त भए । लिग चरणको एक दिन अघिनै प्लेअफ खेल्ने टोलीको टुंगो लागिसकेको थियो ।
नियम अनुसार लिग चरणका २१ खेलपछि शीर्ष चारमा रहने टोलीले प्लेअफका खेल खेल्नेछन् । काठमाडौं रेजस ६ खेलबाट १३ अंंक सहित शीर्षस्थानमा छ । धनगढी समान ६ खेलबाट १० अंक सहित दोस्रो, ललितपुर ९ अंक सहित तेस्रो र बुटवल लुम्बिनी ८ अंक सहित चौथों स्थानमा रहदै प्लेअफमा स्थान बनाए ।
पोखरा थण्डर्सको ८ अंक रहेपनि बुटबल लुम्बिनीसँग हेड टु हेडमा पछि पर्दै बाहिरियो । सुरुवाती खेल र कागजमा बलियो देखिएको विराटनगरले ७ अंक बनाउ मात्रै सक्यो । उसले छैठौं स्थानमा रहेर लिग टुंगायो । चितवन जित विहिन हुँदै २ अंक सहित प्रतियोगिताको समापन गर्यो ।
बुधबारबाट प्लेअफका खेल सुरु हुनेछन् । पहिलो प्लेअफमा काठमाडौं र धनगढीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो प्लेअफमा ललितपुर र बुटबल लुम्बिनीबीच भिडन्त हुनेछ ।
पहिलो प्लेअफको विजेता सिधै फाइनल पुग्नेछ भने दोस्रो प्लेअफमा हार ब्यहोर्ने टोली बाहिरिने छ । पहिलो प्लेअफमा पराजित टोली र दोस्रो प्लेअफको विजेताको विजेता टोली फाइनल पुग्नेछन् ।
फाईनल खेल जेठ १ गते हुनेछ । लिग चरणसम्म प्रतियोगिताका मुख्य घटना निम्न प्रकारका रहेका छन् ।
अभागी विराटनगर
प्रतियोगिता सुरु हुनु अघि कागजमा बलियो मानिएको थियो, विराटनगरलाई । विदेशी खेलाडी, प्रशिक्षकसँगै पूर्वका राम्रा खेलाडीको साथ पाएको विराटनगरको बेन्चसमेत बलियो थियो । सोहि अनुसार उसले प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्याे । पहिलो खेलमा धनगढी एफसीविरुद्ध ३–० को जित निकालेको उसले त्यसपछि विर्सनलायक प्रदर्शन गर्यो ।
खराब लयमा रहेको विराटनगर कुनै समय काठमाडौंविरुद्ध लिएको २–० को अग्रता समेत जोगाउन सकेन । अन्तिम खेलमा भने उसले प्रतियोगिताकै लज्जास्पद हार ब्यहोर्यो । रेफ्रीका निर्णय पनि विवादमा रहे । विराटनगरलाई त्यसले समेत हानी पुग्यो । अन्तिम खेलमा मैदान छाड्ने अप्रिय निर्णयले विराटनगरको नाममा दाग लाग्ने काम गर्यो ।
काठमाडौंको दाबेदारी
प्रतियोगिताको पहिलो खेलमा धनगढी एफसीसँग ३–० गोल अन्तरले पराजित भएको थियो, काठमाडौं रेजर्स । पहिलो खेलमै ठुलो हार ब्यहोरेको काठमाडौंलाई अनुभवी प्रशिक्षक बालगोपाल महर्जनले उद्धारनै गरे ।
राष्ट्रिय टोलीका केही खेलाडी र विदेशी खेलाडीको लयसँगै काठमाडौंले प्रभावशाली प्रदर्शन गर्न सफल रह्यो । विराटनगरविरुद्ध २–० गोल अन्तरले पछि परेको अवस्थामा उसले प्रभावशाली जित आत्मसाथ गर्यो । लिग चरणमै उसका विदेशी खेलाडी मेसुकेले ह्याट्रिक पुरा गरे । प्रतियोगितामा काठमाडौंले हार ब्यहोरेको धनगढीसँग मात्रै हो ।
काठमाडौंको टिममा खासै चोटको समस्या छैन । खेलाडी विस्तारै लयमा देखिन्छन् । विराटनगरविरुद्ध प्राप्त जितसंगै काठमाडौं प्रतियोगिताको प्रबल दाबेदारको रुपमा देखिएको छ ।
ओलावालेले जोगाएको धनगढी
धनगढीका मार्की खेलाडी हुन्, विशाल राई । धनगढीलाई विशाल सहित राष्ट्रिय टोलीका कप्तान किरण कुमार लिम्बु र विदेशी खेलाडीको आफिज ओलावालेको बलियो साथ छ ।
ओलावालेले लिग चरणको ५ खेलमा ४ गोल गरेका छन् । उनले अन्तिम खेल भने चोटका कारण खेलेनन् । उनी पहिलो खेलमा मात्रै गोल विहिन रहे । चौथो खेलमा पहिलो हाफमै चोट बोक्न पुगे । उनी प्लेअफमा काठमाडौैविरुद्ध उत्रने सम्भावन भने रहेको छ ।
जब ओलावले चल्छन्, धनगढी जोगिन्छ । नत्र सुदुरपश्चिमको यस टिमलाई गाह्रो पर्ने देखिन्छ ।
चोटले धोका दिएको चितवन
एफसी चितवनलाई समेत एनएसएलको बलियो टिम मानिएको थियो । चितवनलाई मार्की खेलाडी भरत खवास सहित अनुभवी प्रशिक्षक मेघराज केसीको साथ थियो ।
चितवनमा त्रिभुवन आर्मी फुटबल क्लबका खेलाडीको बाहुल्यता रहेको छ । तर सुपर लिग अघि आर्मीले एएफसी छनोटको खेल खेल्न पर्र्नु र बाँकी खेलाडी समेत मोफसलमा रहँदा उसले आवश्यता अनुसार तयारी गर्न पाएन । चितवनले इजिष्टका दुई खेलाडी र फ्रान्सका गोरान भित्राएको थियो ।
मार्की खेलाडी भरत सहित विदेशी खेलाडीको चोट र अक्सनमा आएका विकास खवास लगायतका खेलाडीलाई चोटले सताउँदा उसले सोच अनुसारको प्रदर्शन दिन सकेन र लिग चरणबाटनै बाहिरियो । एनएसएलको पहिलो सिजन चितवनका लागि बिर्सनलायक रह्यो ।
ललितपुरको पुनरागमन
एक समय ललितपुर प्रतियोगिताबाट लगभग बाहिरिसकेको अवस्था थियो । सम्भावना गणितिय मात्र थियो । ललितपुरले प्रशिक्षक प्रदीप हुमागाईलाई बर्खास्त गर्यो । बाँकी खेलको जिम्मेवारी दियो, राजु तामाङलाई ।
'ब्याक टू ब्याक; दुई जित सहित ललितपुरले प्लेअफमा आफुलाई उभ्याउन सफल रह्यो । अन्जन विष्ट ललितपुरको यात्राका नायक रहे । उनी नेतृत्वको ललितपुरले एनएसएलको प्लेअफमा अझ बलियो चुनौती दिने अपेक्षा गरिएको छ ।