एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहममाथि म्यान्चेष्टर युनाईटेडले शानदार जित निकालेको छ ।
आईतबार राति घरेलु टोली टोटेनहमलाई युनाईटेडले ३–१ गोल अन्तरले हराएको हो ।
पहिलो हाफमा १–० ले पछि परेको अवस्थामा युनाईटेडले शानदार पुनरागमन जित निकाल्यो ।
खेलको ४० औं मिनेटमा सन ह्युङ मिनको गोलमा टोटेनहमले अग्रता बनाएको थियो ।
फ्रेडको गोलमार्फत ५७ औं मिनेटमा युनाईटेड खेलमा फर्कियो ।
इडिन्सन काभानीले ७९ औं मिनेटमा युनाईटेडलाई अग्रता दिलाए । ईन्जुरी समयमा मासन ग्रिनउडको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि युनाईटेड ३–१ ले विजयी बन्यो ।
जितसंगै युनाईटेडले टोटेनहमको शीर्ष चारको लक्ष्यमा गम्भिर धक्का दिएको छ र उपाधि होडमा आफुलाई अघि सारेको छ ।
जितपछि दोस्रो स्थानको युनाईटेडले ६३ अंक जोडेको छ । युनाईटेड शहरी प्रतिद्धन्दी म्यान्चेष्टर सिटी भन्दा अझै ११ अंकले पछि छ । टोटेनहम ४९ अंक सहित सातौं स्थानमा छ ।
आईतबारनै भएको खेलमा रेलिगेशन जोनको न्युक्यासलले वर्नलीमाथि २–१ को जित निकाल्यो ।
च्याम्पियन्स लिगको दौडमा रहेको वेस्ट ह्यामले तेस्रो स्थानको लेस्टरमाथि ३–२ को जित निकाल्यो । जित सहित वेस्ट ह्याम चौथो स्थानमा उक्लिएको छ ।