काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले पाकिस्तानी लिगमा मासा युनाईटेडको कप्तानी गर्ने भएकी छिन् ।
मासा युनाईटेडले सोमबार एन्जिलालाई कप्तानी दिने निर्णय गरेको हो ।
'आज भएको कार्यक्रममा मलाई टोलीको कप्तानी दिने निर्णय भएको छ । टोलीको नेतृत्व गर्न तयार छु । भर्खरै बनेको टोली रहेछ । राम्रो नतिजा दिने प्रयास गर्छौ,' पाकिस्तानमा रहेकी एन्जिलाले खेलपाटीसँग भनिन् ।
पाकिस्तानी लिगका लागि गत शुक्रबार एन्जिलासहित चार नेपाली खेलाडी पाकिस्तान गएका थिए ।
पाकिस्तानको घरेलु लिग ‘राष्ट्रिय महिला वुमेन्स फुटबल च्याम्पियनसिप’ मा एन्जिलासँगै गिता राना, अनिता केसी र सरु लिम्बुले मासा युनाईटेडबाट खेल्ने छिन् ।
चारै खेलाडीले भर्खरै सम्पन्न राष्ट्रिय महिला लिगमा एपीएफलाई अपराजित राख्दै उपाधि दिलाएका थिए ।
गोलरक्षक एन्जिला, डिफेन्डर गिता, मिडफिल्डर सरु र स्ट्राइकर अनिताले पहिलो पटक विदेशमा पुगेर प्रतियोगिता खेल्न लागेका हुन् ।
यस अघि स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेलेका थिए ।
सावित्रा र अनिता पछि महिला टोलीमा विदेशी क्लबको प्रतिनिधित्व गर्ने यी चार खेलाडी भएका छन् । चारै खेलाडी पाकिस्तानी घरेलु प्रतियोगिता खेल्ने पहिलो खेलाडी समेत हुनेछन् ।