काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा पुल्चोक स्पोर्ट्स क्लबले पहिलो जित निकालेको छ ।
सोमबार भएको खेलमा रानीपोखरी कर्नर टिम आरसिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै पुल्चोकले पहिलो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा पुल्चोकलाई जित दिलाउन अर्जुन कुमार राना र किस्मत लिम्बुले एक एक गोल गरे ।
आरसिटीका अमर डंगोलले एक गोल फर्काए ।
खेलको पाँचौं मिनेटमा अर्जुनले गोल गर्दै पुल्चोकलाई अग्रता दिलाएका थिए ।
तर, ४३ औं मिनेटमा अमरले गोल गर्दै आरसिटीलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा किस्मतले गोल गर्दै पुल्चोकलाई २-१ को जित दिलाए ।
जितसँगै पुल्चोकले १० खेलमा ५ अंक जोडेको छ ।
पुल्चोक पुछारमा रहेको छ ।
आरसिटी १० खेलमा १३ अंक जोडेर पाचौं स्थानमा रहेको छ ।