काठमाडौं । राष्ट्रिय महिला टोलीले हालसम्म तीन देशसँग मैत्रीपूर्ण फुटबल खेलेको छ । सन् २०१३ मा कतार र कुवेतसँग मैत्रीपूर्ण फुटबल खेलेको महिला टोलीले सन् २०१६ मा मलेसियासँग थप एक मैत्रीपूर्ण खेल खेल्यो ।
कतारसँग खेलेका दुई मैत्रीपूर्ण खेल नेपालले जितेको थियो । नेपालले कुनै गोल नखाई कतारको पोस्टमा ९ गोल गरेको थियो ।
सोही वर्ष महिला टोलीले कुवेतसँग अर्को मैत्रिपूर्ण खेल खेल्यो । कुवेतसँगको मैत्रिपूर्ण खेलमा नेपालले ८ गोल गर्यो ।
सन् २०१६ मा मलेसियासँग तीन मैत्रीपूर्ण खेल खेलेको नेपालले एक खेल जित्दा दुई खेलमा पराजित हुन पुग्यो । नेपालले मलेसियासँग तीन खेलमा तीन गोल गर्यो र पाँच गोल ब्यहोर्यो । मलेसियासँग खेलपछि नेपालले कुनै देशसँग मैत्रीपूर्ण फुटबल खेलेको छैन ।
तर महिला टोलीको नवनियुक्त प्रशिक्षक ग्यारी फिलिप्सले अब नेपाली महिला टोलीले मैत्रीपूर्ण खेल खेल्ने संकेत गरेका छन् । उनले महिला फुटबल टोलीको स्तर वृद्धिका लागि भारतसंग नभई एसियाका ठुला देशसंग खेल्नुपर्ने धारणा राखे ।
‘हामीले अब एसियाका ठुला राष्ट्रसँग खेल्नु पर्छ ।’ महिला टिमको जिम्मेवारी पाएका प्रशिक्षक फिलिप्सले भने, ‘हामी एसियाका शीर्ष राष्ट्र जापान, कोरिया, अस्ट्रेलिया, चीन लगायतका देशसँग खेल्न सक्छौ र खेल्नु पर्छ ।’
नवनियुक्त प्रशिक्षण पिलिप्सले छिमेकी राष्ट्र भारतसँग भने मैत्रीपूर्ण फुटबल नखेल्ने बताए । भारतले नेपालसँग हालसम्म मैत्रीपूर्ण खेल खेल्न नमानेको उल्लेख गर्दै नेपाल पनि नखेल्ने बताएका हुन् ।
‘भारतले अहिलेसम्म नेपालसँग मैत्रीपूर्ण खेल खेलेको छैन । उसले हामीलाई आफ्नो स्तरभन्दा तलको सोच्छ ।’ उनले भने, ‘अब हामी पनि भारतसँग खेल्दैनौं । नेपाल भारतभन्दा तल्लो स्तरको टोली हैन ।’
आँकडा हेर्ने हो भने दक्षिण एसियामा नेपालको मुख्य प्रतिद्धन्दी भारतनै हो । भारतकै कारण नेपालले धेरै जसो प्रतियोगिताको फाइनलमा हार व्यहोर्दै उपाधिबाट बन्चित हुँदै आएको छ ।
त्यसैले पनि नेपालको पहिलो चुनौती भारत हो । नवनियुक्त प्रशिक्षक फिलिप्सले आफ्नो लक्ष्य नेपाली महिला टोलीलाई एसियन कपमा छनोट गराउनु रहेको बताए ।
उनले नेपाली खेलाडीको समेत खुलेरै प्रशंसा गरे । उनले पाकिस्तान लिग खेल्न गएका चार खेलाडीसहित स्ट्राइकर साबित्रा भण्डारी उत्कृष्ट रहेको बताए ।
‘नेपाली महिला टोलीमा निकैनै उत्कृष्ट खेलाडी छन् । चार जना खेलाडी पाकिस्तान लिग खेल्न गए ।’ फिलिप्सले भने, ‘पाकिस्तान गएका खेलाडीले त्यहाँ पनि उत्कृष्ट खेल्नेमा विश्वस्त छु ।’
फिलिप्सले स्ट्राइकर सावित्रा बार्सिलोनाका मेस्सी जस्तै रहेको बताए ।
उनले स्पेनिस क्लब बार्सिलोनालाई मेस्सीको आवश्यकता भएझै नेपाली महिला टोलीलाई सावित्राको आवश्यकता रहेको बताए ।
‘बार्सिलोनाका लागि मेस्सी र नेपाली टोलीका लागि सावित्रा उस्तै हुन् ।’ उनले भने, ‘मेस्सीविना जसरी बार्सिलोना अपुरो छ, त्यस्तै सावित्राविना नेपाली टोली पनि । उनी नेपाली टोलीका लागि सधै आवश्यक छिन् ।’
केही साता अघि सम्पन्न महिला लिगमा सावित्राले चोट बोकेकी थिईन् । चोटका कारण उनी लामो समय मैदान बाहिर रहने देखिएको छ ।
नव नियुक्त प्रशिक्षक फिलिप्सले आफुले महिला टोली सम्हाल्नै लाग्दा सावित्रा टोलीमा नहुनु दुखद भएको बताए ।
उनले आफ्नो ढाँचा अनुसार सावित्रा मैदान उतार्न नपाउँदा दुख लाग्ने बताए ।
फिलिप्सले महिला टोली छनोटका लागि ५० खेलाडी डाक्ने तयारी गरेका छन् । उनले ३० खेलाडी पहिलेनै बन्द प्रशिक्षणमा बोलाईएको उल्लेख गर्दै थप २० खेलाडी भर्खरै सम्पन्न राष्ट्रिय महिला लिगमा रहने बताए । उनले थपिने २० खेलाडी नयाँ अनुहार रहने समेत जानकारी दिए ।