काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा राष्ट्रिय महिला लिग फुटबल आजबाट सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेलसंगै महिला लिग सुरु हुनेछ ।
आर्मी र पुलिसबीचको उद्घाटन खेल अपरान्ह २ बजे सुरु हुनेछ ।
पहिलो पटक बृहत रुपमा आयोजना गर्न लागेको महिला लिगको उद्घाटन खेलमा एन्फाले दर्शकलाई निशुल्क प्रवेशको सुविधा दिएको छ ।
उद्घाटनपछिका अन्य खेलहरु भने एन्फाको मैदान सातदोबाटोमा हुनेछन् ।
पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ ।
तीन विभागीय टोली (शसस्त्र प्रहरी बल एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब) सहित चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
महिला लिग पहिलो पटक नयाँ ढाँचामा आयोजना हुन् लागेको हो । यस अघिको संस्करणमा हप्दा दिनमा सकिने महिला लिगले पहिलो पटक राउण्ड रोविनको आधारमा हुनेछ ।
यस अघि पहिलो चरण सशस्त्र प्रहरी बलको हल्चोक मैदान र रौतहटमा दोस्रो चरणका खेल भएको थियो । जसबाट सेमिफाइनलमा पुग्ने चार टोली फाइलन चरणका लागि छनोट भएका थिए ।
फाइनल चरणका खेल विराटनगरमा गर्ने तयारी हुँदै गर्दा कोरोना भाईरसका कारण प्रतियोगिता सरेको थियो ।
पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलता पूर्वक सम्पन्न गरेको एन्फाले कोरोनाकै कारण महिला लिगको आयोजना गर्न भने पाएन ।
यस पटकको महिला लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडी समेत राख्न पाउनेछन् ।
प्रतियोगितोको विजेता टोलीले १५ लाख प्राप्त गर्दा दोस्रोले ८, तेस्रोले ५, तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ ।
यस्तै प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।