एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले लिग लिडर एसी मिलानलाई पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा युभेन्ट्सले मिलानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
मिलानको मैदानमा फेड्रिको चिसाले दुई गोल गरेपछि युभेन्ट्सले सहज जित निकालेको हो ।
खेलको १८ औं मिनेटमा फेड्रिकोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
तर, ४१ औं मिनेटमा डाभिडे कालाब्रियाले गोल गर्दै मिलानलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ६२ औं मिनेटमा फेड्रिकोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा वेस्टन म्याककेन्नीले गोल गर्दै युभेन्ट्सलाई ३-१ को सहज जित दिलाए ।
जितसँगै युभेन्ट्स लिगको चौंथो स्थानमा उक्लिएको छ ।
युभेन्ट्सले १५ खेलमा ३० अंक जोडेको छ ।
मिलानले १६ खेलमा ३७ अंक जोडेको छ । मिलान शीर्ष स्थानमा कायम रहेको छ ।
तर, युभेन्ट्ससँग पराजित भएसँगै मिलानको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ ।