एजेन्सी । टोटेनहमका पूर्व प्रशिक्षक मौरिसियो पोचिटिनोलाई पेरिस सेन्ट जर्मेन (पीएसजी)को नयाँ प्रशिक्षकको मुख्य दाबेदार मानिएको छ ।
पीएसजीले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेसंगै पोचिटिनोको नाम चर्चामा छ ।
प्राप्त जानकारी अनुसार पीएसजीका खेलाडीले ४८ वर्षिया प्रशिक्षक क्लबमा सहभागी हुने बताएका छन् ।
पीएसजी र पोचिटिनो पछिल्ला दुई हप्तादेखि छलफलमा छन् ।
लिग वानको पछिल्लो खेलमा स्ट्रासबर्गमाथि ४–० ले जित निकालेको केही घण्टामै क्लबले टुचेललाई बर्खास्त गरेको हो । फ्रेन्च क्लबले जर्मनी प्रशिक्षकलाई बर्खास्त गरेको विषय आधिकारिक रुपमा पुष्टि गरेको छैन ।
टुचेल सन् २०१८ को जुनमा पीएसजीको मुख्य प्रशिक्षक बनेका थिए । उनले दुई लिग उपाघि सहित फ्रेन्च कप र फ्रेन्च लिग कप जितेका थिए ।
गत सिजन मात्र पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाईनलमा प्रवेश गरेको थियो । उपाधि भिडन्तको सो खेल पीएसजीले १–० ले गुमाएको थियो ।
बोरुसिया डर्टमण्डका प्रशिक्षक टुचेलको सम्झौता यस सिजनको अन्त्यसंगै सकिदै थियो ।
उनी सन् २०१८ मा दुई वर्षको सम्झौता सहित क्लबमा भित्रिएका थिए । उनले स्पेनिस प्रशिक्षक उनई ईम्रीलाई स्थानान्तरण गर्दै क्लबको मोर्चा सम्हालेका थिए । सन् २०१९ को मेमा उनले क्लबसंग एक वर्षको सम्झौता नविकरण गरेका थिए ।
पीएसजी अहिले फ्रेन्च लिगको तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको लियोन भन्दा एक अंक पछि छ । पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा समेत प्रवेश गरेको छ । उसले स्पेनिस महारथी क्लब बार्सिलोनालाई प्रतिद्धन्दीको रुपमा पाएको छ ।
बुधबार लिगमा प्राप्त जितले दुई हप्ताको विन्टर ब्रेक अघि पीएसजी शीर्ष स्थानको लियोन र दोस्रो स्थानको लिली भन्दा मात्र एक अंक पछि छ ।
पोचिटिनोले टोटेनहमलाई सन् २०१९ मा च्याम्पियन्स लिगको फाईनल यात्रा तय गराएका थिए । उपाधि भिडन्तमा लिभरपुलसंग टोटेनहम पराजित बनेको थियो । पछिल्लो समय पोचिटिनो पीएसजीसंग जोडिएका थिए ।
उनी सन् २००१ देखि २००३ सम्म पीएसजीबाट खेलेका थिए ।
पीएसजी पछिल्लो समय टोटेनहमका डेली अलीसंग जोडिएको छ । प्रिमियर लिगमा अली पोचिटिनोकै नेतृत्वमा डेब्यु गरेका थिए ।