काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य रोहित चन्द पर्सिजा जाकर्ताको अभ्यास सत्रमा सहभागी बनेका छन् ।
कोरोना भाईरसको महामारीका कारण ६ महिनापछि रोहित पर्सिजाको अभ्यास सत्रमा फर्किएका हुन् ।
रोहित गत साता इन्डोनेशियाको शीर्ष डिभिजनको लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका थिए । रोहित शनिबार बिहान पश्चिम जाभाको डेपोकमा टिमसंग अभ्यास गरेका हुन् ।
बुधबार जाकर्ता झरेका रोहितले मेडिकल प्रक्रिया पार गरेर अभ्यासमा सामेल भएका हुन् । जाकर्ताले भने गत महिनाबाटनै अभ्यास सुरु गरेको थियो । अन्तराष्ट्रिय उडान सुरु नहुँदा रोहित नेपालमै रहेका थिए ।
यसअघि शीर्ष डिभिजनको लिग वानमा दुई खेलसँगै प्रतियोगिता स्थगित भएको थियो । कोरोनाको लकडाउनले केही समय जाकर्तामै रहेको रोहित इन्डोनेशियाको जनजिवन सामान्य भएपछि स्वदेश फर्किएका थिए ।
रोहित यस बीचमा जाकर्ता फर्कने अन्तिम विदेशी खेलाडी बन्न पुगे ।
ढिला गरि जाकर्ता पुगेका रोहितले प्रशिक्षणमा फर्कन कुनै कठिनाई नभएको बताएका छन् ।
‘नेपालमा छँदा साइकल चलाउने र फुटबल स्वतन्त्र रुपमा चलाउने जस्ता गतिविधि गरिनै राखेको थिए । जसले गर्दा प्रशिक्षणमा सहभागी हुन कुनै कठिनार्ई भएन ।’ रोहितको भनाई उद्धित गर्दै जाकर्ताले भनेको छ ।
रोहित भनेको छन्, ‘६ महिनापछि पर्सिजाको अभ्यासमा फर्किएको छु । पक्कै पनि यो सजिलो छैन । तर म आफ्नो फर्ममा फर्कन कोशिस गर्छु । प्रतिस्पर्धा गर्न तयार छु ।’
उनले विगत १० बर्षदेखि इन्डोेनेशियामा व्यवसायीक फुटबल खेलिरहेका छन् ।
सन् २०१८ मा रोहितको उत्कृष्ट प्रदर्शनसँगै पर्सिजाले लिग वानको उपाधि हात पारेको थियो । रोहित प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी चुनिएका थिए ।
रोहितको आगमनले प्रशिक्षक सुदर्मन खुशी देखिए । उनले सन् २०२० को लिगको तयारीलाई अन्तिम रुप दिन रोहित तयार रहेको विश्वास ब्यक्त गरे ।
‘अवश्य पनि रोहित प्रशिक्षणमा फर्किदा खुशी छु । रोहित पछिल्ला केहि वर्षमा पर्सिजाका लागि महत्वपूर्ण खेलाडी थिए । लक डाउनले उनलाई केहि समस्या पनि भयो । उनको आगमनसँगै क्लबको मिडफिल्डर अझ परिपक्व भएको छ । तयारी अझ राम्रो हुनेछ ।’
कोरोनाले गर्दा रोकिएको लिग वानको मिति तय भएको छैन ।