एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा पोर्चुगलले आज (मंगलबार) स्विडेनसँग प्रतिस्पर्धा गर्दैछ ।
साविकको विजेता पोर्चुगलले स्विडेनसँग उसैको मैदानमा खेल्ने लागेको हो । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १२:३० मा सुरु हुनेछ ।
फ्रेन्ड्स एरिनामा पोर्चुगल लगातार दोस्रो जितको खोजीमा हुनेछ । स्विडेन भने पहिलो अंकको खोजीमा हुनेछ ।
पहिलो खेलमा पोर्चुगलले क्रोएसियालाई सहजै ४-१ ले हराएको थियो । त्यसैले पोर्चुगल उच्च मनोबलका साथ मैदान उत्रने छ ।
तर, बलियो टिम स्विडेनविरुद्ध पोर्चुगललाई सहज भने छैन ।
स्विडेनविरुद्ध स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो मैदान उत्रने सम्भावना बलियो रहेको छ । रोनाल्डोको आगमनले पोर्चुगिज टिम थप बलियो हुनेछ ।
मौरीले खुट्टाको औलामा टोकेपछि रोनाल्डोले क्रोएसियासँगको खेल गुमाएका थिए । तर, उनी प्रशिक्षणमा फर्किएका छन् ।
कप्तान रोनाल्डो शतक गोलको नजिक समेत रहेका छन् । रोनाल्डोले पोर्चुगलका लागि ९९ गोल गरिसकेका छन् ।
स्विडेनविरुद्ध रोनाल्डो शतक गोलको लक्ष्यमा हुनेछन् ।
यता, घरेलु मैदानमा स्विडेन पोर्चुगललाई हराएर पहिलो जित निकाल्न चाहन्छ ।
स्विडेन पहिलो खेलमा फ्रान्ससँग १-० ले स्तब्ध भएको थियो । तर, घरेलु मैदानमा स्विडेन फ्रान्ससँगको गल्ती दोहोर्याउने योजनामा छैन ।
यस समूह लिग 'ए' समूह ३ मा पोर्चुगल शीर्ष स्थानमा रहेको छ । पोर्चुगलले ३ अंक जोडेको छ ।
३ अंक जोडेको फ्रान्स दोस्रो स्थानमा रहेको छ । अंक विहीन स्विडेन तेस्रो र क्रोएसिया पुछारमा रहेको छ ।
नेसन्स लिग अन्तर्गत नै इंग्ल्यान्डले डेनमार्कसँग खेल्नेछ । डेनमार्कविरुद्ध इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
यसै समूहको अर्को खेलमा बेल्जियमले आइसल्याण्डसँग खेल्नेछ । बेल्जियम पनि लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
लिग 'ए' समूह २ मा बेल्जियम शीर्ष स्थानमा रहदा इंग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ ।