एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्सले आज (मंगलबार) क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ ।
विश्वकप विजेता फ्रान्सले घरेलु भूमिका विश्वकप उपविजेता क्रोएसियासँग खेल्ने लागेको हो । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १२:३० मा सुरु हुनेछ ।
स्टेड डे फ्रान्स स्टेडियममा फ्रान्स लगातार दोस्रो जितको खोजीमा हुनेछ । तर, बलियो मानिएको क्रोएसियाविरुद्ध फ्रान्सलाई सहज भने हुने छैन ।
यस्तै फ्रान्सलाई स्टार स्ट्राइकर केलियन एमबाप्पेको अभाव हुनेछ । कोरोना भाईरसको संक्रमण भएपछि एमबाप्पे फ्रान्सको टिममा छैनन् ।
यस अघि स्विडेनविरुद्ध १-० को जितमा एमबाप्पेले नै निर्णायक गोल गरेका थिए । मिडफिल्डर पाउल पोग्बा समेत कोरोना संक्रमणकै कारण टिममा छैनन् ।
यता, क्रोएसिया भने पहिलो जितको खोजीमा हुनेछ । यस्तै क्रोएसिया पहिलो अंक जोड्न चाहन्छ ।
क्रोएसिया पहिलो खेलमा पोर्चुगलसँग ४-१ ले पराजित भएको थियो ।
क्रोएसिया फ्रान्सविरुद्ध सन् २०१८ को विश्वकपको फाइनलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्ससँग ४-२ गोल अन्तरले पराजित भएको थियो ।
यस समूह लिग 'ए' समूह ३ मा पोर्चुगल शीर्ष स्थानमा रहेको छ । पोर्चुगलले ३ अंक जोडेको छ ।
३ अंक जोडेको फ्रान्स दोस्रो स्थानमा रहेको छ । अंक विहीन स्विडेन तेस्रो र क्रोएसिया पुछारमा रहेको छ ।