काठमाडौँ। रजनी ठोकरको २ गोलसँगै मधेश प्रदेशले एन्फा लिगमा छनोट हुने सम्भावना जीवितै राखेको छ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा मंगलबार सम्पन्न खेलमा मधेशले लुम्बिनी प्रदेशलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
जितसँगै तेस्रो स्थानमा रहेको मधेशले लिगमा छनोट हुन कर्णालीको खेल कुर्नुपर्ने भएको छ। मधेशको ६ खेलबाट १० अंक रहेको छ। चौथो स्थानमा रहेको कर्णालीको ५ खेलबाट ९ अंक रहेको छ।
कर्णालीलाई लिगमा छनोट हुन बागमतीविरुद्धको अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ। मधेशको जितमा रजनीले ३८ र ७५औँ मिनेटमा गोल गरिन्। एक गोल भने लुम्बिनीकी अन्जना पुनले उपहार दिएकी थिइन्।
लुम्बिनीकी प्रतीक्षा ठकुरीले ४६औँ मिनेटमा गरेको गोल खेलमा सान्त्वना रह्यो। ५ खेल खेलेको लुम्बिनी एक जितसहित छैटौँ स्थानमा छ। लुम्बिनीले अन्तिम खेल लिगमा छनोट भइसकेको सुदूरपश्चिमविरुद्ध खेल्ने छ।