एजेन्सी । युरोपियन क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलहरु आज (बुधबार) बाट सुरु हुँदैछ ।
पोर्चुगलको लिस्बनमा हुने पहिलो क्वाटरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इटालियन क्लब एटलान्टाबीच प्रतिस्पर्धा हुनेछ ।
लिग वान च्याम्पियन पीएसजी र एटलान्टाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
स्टाडियो डा लुज रंगशालामा दुवै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टिम यस सिजन सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्न चाहन्छ ।
पीएसजीले यस सिजन फ्रान्सको लिग वानसहित महत्वपूर्ण तीन उपाधि जितेको छ । त्यसैले थोमस टुचेलले टिम पीएसजी उच्च मनोबलमा हुनेछ ।
कोरोनाको कारण लिग रद्द भएपछि पीएसजीले पर्याप्त मात्रामा तयारीको अवसर समेत पाएको छ । यस्तै स्टार फरवार्ड नेयमारको लयको कारण पनि पीएसजी बलियो देखिएको छ ।
एन्कल चोटका कारण विश्वकप विजेता अर्का फरवार्ड केलियन एमबाप्पे भने मैदान उत्रने सम्भावना कम रहेको छ । प्रशिक्षक टुचेलले एमबाप्पे फिट भईसकेको बताएपनि उनी बेन्चमा रहने सम्भावना छ ।
पीएसजी सन् २०१६ को सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो ।
यता, एटलान्टाले भने पहिलोपटक क्वाटरफाइनलमा पुगेको हो ।
च्याम्पियन्स लिगमा ऐतिहासिक प्रदर्शन गरिरहेको एटलान्टा पीएसजीलाई हराएर पहिलो पटक अन्तिम चारमा पुग्न चाहन्छ ।
तर, बलियो टिम पीएसजीको चुनौती पन्छाउन एटलान्टालाई सहज भने छैन ।
पीएसजी र एटलान्टा एक अर्काविरुद्ध मैदान उत्रदा अपरिचित समेत हुनेछन् । दुई टिमबीच अहिलेसम्म प्रतिस्पर्धा भएको छैन ।