काठमाडौं । करिब तीन महिनाको निलम्बनबाट फुकुवा भएका राष्ट्रिय टिमका सदस्य दिनेश राजवंशीले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको अन्तिम खेल खेल्ने भएका छन् ।
च्यासल युथ क्लबका दिनेशले पूर्व क्लब थ्री स्टारविरुद्ध हुने लिगको अन्तिम खेल खेल्ने भएका हुन् ।
राष्ट्रिय टिमका डिफेन्डर समेत रहेका दिनेश ९० दिनको निलम्बन फुकुवासँगै मैदान उत्रन लागेका हुन् । यस सिजनको लागि च्यासल युथ क्लबसँग सम्झौता गरेका दिनेश निलम्बन फुकुवासँगै पूर्ण क्लब थ्री स्टारविरुद्ध उत्रन लागेका हुन् ।
‘दिनेशको फुकुवा भएको छ । अब, अन्तिम खेलमा थ्री स्टारविरुद्ध उ मैदान उत्रनेछन्,’ च्यासल युथ क्लबका व्यवस्थापक शंकर ब्यन्जनकारले खेलपाटीसँग भने ।
खराब प्रदर्शनबाट गुज्रिरहेको च्यासलले ‘पाटन डर्बी’ मा शुक्रबार थ्री स्टारको सामना गर्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल अपरान्ह १२ बजे सुरुहुनेछ ।
राष्ट्रिय टिमबाट विश्वकप छनोट खेल खेल्न भुटान उड्नु अघिल्लो रात नाईट क्लबमा भेटिएपछि दिनेशसहित चार खेलाडीलाई एन्फाले कारबाही गरेको थियो ।
दिनेशसहित अन्जन विष्ट, विमल घर्ति मगर र सन्तोष तामाङ एन्फाको कारबाहीमा परेका थिए । अन्जन र सन्तोषलाई ४५ दिन फुटबल खेल्न प्रतिबन्ध लगाईएको थियो भने विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लागेको थियो ।
दिनेश ९० दिनको प्रतिबन्धपछि फुटबलमा फर्किन लागेको हुन् । तर, यस सिजन उनले अन्तिम खेलमात्रै खेल्नेछन् । अन्जन र सन्तोष क्लब फुटबलमा फर्किसकेका छन् । विमल पनि मछिन्द्रबाट लिगको अन्तिम खेल खेल्दै फुटबलमा फर्कने छन् ।
गत सिजन नेपाल पुलिस क्लबबाट लिग खेलेका दिनेश त्यसपछि थ्री स्टारबाट पुगेका थिए । मोफसलका अधिकांश प्रतियोगिता थ्री स्टारबाट खेलेका लिगको लागि च्यासलसँग जोडिएका थिए । शुक्रबार पहिलो पटक दिनेश च्यासलको जर्सीमा देखिने छन् ।
लिगको १२ खेलमा ४ जित निकालेको च्यासल १५ अंकसहित आठौं स्थानमा रहेको छ ।लिगको १२ खेलमा ४ जित निकालेको च्यासल १५ अंकसहित आठौं स्थानमा रहेको छ ।