काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा संकटा क्लबले फराकिलो जित निकालेको छ ।
सातदोबाटोमा बिहिबार भएको खेलमा संकटाले रेलिगेशनमा परेको टिम सरस्वती युथ क्लबलाई ६-२ गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्समा संकटालाई जित दिलाउन मेसौकेले दुई गोल गरे । यस्तै सुवास गुरुङ, टिका राज गुरुङ र रोशन पहाडीले एक एक गोल गरे । संकटाले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।
सरस्वतीका काजिम बुसारीले दुई गोल फर्काए । सरस्वतीका पूर्ण बहादुर श्रेष्ठले आत्मघाती गोल गरे ।
लिगकै सर्वाधिक धेरै गोल निस्किएको खेलको पहिलो हाफमै संकटाले ३-० को अग्रता बनाएको थियो ।
खेलको पाँचौं मिनेटमा मेसौकेले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाए । ३३ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ३७ औं मिनेटमा सुवासले गोल गर्दै संकटालाई ३-० को अग्रता दिलाए ।
दोस्रो हाफमा दुवै टोलीबाट थप पाँच गोल निस्कियो । खेलको ५६ औं मिनेटमा टिकाले गोल गर्दै संकटालाई ४-० को अग्रता दिलाए । ६५ औं मिनेटमा सरस्वतीका पुर्ण बहादुर श्रेष्ठले आत्मघाती गोल गर्दा संकटा ५-० को बन्यो ।
खेलको ६६ औं मिनेटमा सरस्वतीका बुसारीले गोल गर्दै खेल ५-१ को स्थितिमा ल्याए । ७९ औं मिनेटमा बुसारीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल खेल ५-२ को बनाए । तर, खेलको ८३ औं मिनेटमा रोशनले गोल गर्दै संकटालाई ६-२ को जित दिलाए ।
फराकिलो जितसँगै संकटाले लिगको सुखद अन्त्य गरेको छ । तर, संकटा शीर्ष ६ मा पुग्न भने असफल भयो ।
संकटाले १३ खेलमा १८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
सरस्वतीले भने हारबाट शीर्ष डिभिजन लिगको अन्त्य गर्दै 'बी' डिभिजनमा झरेको छ। पुछारको सरस्वतीले १३ खेलमा मात्र ४ अंक जोड्यो ।
के भन्छन् प्रशिक्षक ?
संकटाका प्रशिक्षक विजय महर्जनले लक्ष्य अनुसार टिमले नतिजा ल्याउन नसकेको बताए ।
'हाम्रो लक्ष्य अनुसार राम्रो भएन । पहिले दोस्रो थियौं । अहिले सुपर सिक्समा पनि रहेनौं,' उनले भने, 'विपक्षीले गर्दा सुपर सिक्समा भएनौं ।'
सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले टिम रेलिगेशन पर्नुको स्ट्राइकर राम्रो नहुनु र विदेशी खेलाडी राम्रो नपर्नु रहेको बताए ।
'स्ट्राइकर कम भयो । स्कोर भएँन । डिफेन्स कमजोर देखियो । मुख्य यसै कारण हामी रेलिगेशनमा पर्यौं,' उनले भने, 'विदेशी खेलाडी ट्रायल नगरी ल्यायौ । रेलिगेशनमा पर्दा पीडा भएको छ ।'