काठमाडौं । विभागीय टिम एपीएफ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको अन्तिम खेलमा बराबरी खेल्दै अंक बाडेको छ ।
सातदोबाटोमा बिहिबार लिगको आफ्नो अन्तिम खेलमा एपीएफले ब्रिगेड ब्वाईज क्लबसँग १-१ गोलको बराबरी खेलेको हो ।
एन्फा कम्प्लेक्समा पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा एपीएफले ब्रिगेडसँग बराबरी खेलेको हो ।
खेलको ४४ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । नविन लामाले मिलाएको पासलाई सिक्स यार्ड बक्समा रहेका आशिषले आकर्षक हेड गोल गरे ।
यस गोलसँगै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका आशिषले लिगमा ९ गोल पुरा गरेका छन् ।
आशिष भन्दा पछि च्यासलका सन्तोष साहुखल रहेका छन् । उनले ७ गोल गरेका छन् । अब सर्वाधिक गोलकर्तामा आशिष उछिन्न सन्तोषले लिगको अन्तिम खेलमा ३ गोल गर्नु पर्नेछ । यस्तै दुई गोल गरे आशिषसँग बराबर हुनेछ ।
तर, पहिलो हाफमा बनाएको अग्रतालाई एपीएफले अन्तिम समयमा भने जोगाउन सकेन । र, खेलको थप गरिएको इन्जुरी समयमा गोल खाएको थियो ।
थप गरिएको समयको तेस्रो मिनेटमा ब्रिगेडका बैकल्पिक खेलाडी विजय गुरुङले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएपछि एपीएफले एक अंकका चित्त बुझाएको हो ।
खेलमा एपीएफका नविन लामा म्यान अफ दि म्याच चुनिए ।
ब्रिगेडसँगको बराबरीसँगै एपीएफले १३ खेलमा ९ अंक जोड्यो । र, एपीएफ यस सिजनको लिगको १२ औं स्थानमा रह्यो ।
१३ खेलमा ९ अंक नै जोडेको ब्रिगेडले लिगको १३ औं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ ।
के भन्छन् प्रशिक्षक ?
एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले जित्न लक्ष्य लिएपनि सफल नभएको बताए ।
'अन्तिम खेल दबाब थिएन । एक गोलको अग्रता थियो । जित्ने लक्ष्य थियो तर, भएन,' राजेन्द्रले भने, 'धेरै गोल गर्न तर्फ लाग्दा गाह्रो भयो ।'
ब्रिगेडका प्रशिक्षक अर्बिन गुरुङले विदेशी खेलाडीमा चुक्दा टिमको लक्ष्य पुरा नभएको बताए ।
'लक्ष्य शीर्ष ६ थियो । युवा खेलाडी थिए । उनीहरु राम्रो थियो तर, पछि थाक्न थाले,' उनले भने, 'विदेशी खेलाडीमा हामी चुक्यौ । उनीहरुले सोचेजस्तो खेलेनन । टिम राम्रो हो । लक्की पनि भयौं ।'