काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको १२ औं चरणको खेल बुधबारबाट सकिएको छ ।
एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीचको खेलसँगै लिगको १२ औं चरण सकिएको हो । अब लिगमा मात्र एक चरणको खेल बाँकी रहेको छ ।
लिगको अन्तिम एक चरणको खेल बाँकी रहदा ४२ औं संस्करणले च्याम्पियन टोली भने तय भएको छैन । यस्तोमा रोमान्चक बनेको लिगको उपाधि छिनोफानो अन्तिम खेलले तय हुनेछ ।
लिगमा शीर्ष स्थानको विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबविरुद्ध १ अंकको मात्रै अग्रता बनाएपछि लिगको उपाधि अन्तिम खेलबाट तय हुने भएको हो ।
अब लिगको अन्तिम खेलमा आर्मी र मछिन्द्रबीच भिडन्त हुनेछ । दशरथ रंगशालामा हुने आर्मी र मछिन्द्रबीचको खेलले नै लिगको नयाँ च्याम्पियन टोली पाउनेछ ।
लिगको ४२ औं संस्करणसम्म आईपुग्दा मछिन्द्र र आर्मीले उपाधि हात पार्न सकेका छैनन् । त्यसैले दुबैलाई यस सिजन पहिलो उपाधि जित्ने अवसर रहेको छ ।
लिगको अन्तिम चरणका खेल बिहीबारबाट सुरु हुनेछ । अन्तिम चरणको खेल अघि उपाधि होडमा आर्मी र मछिन्द्र मात्रै रहेका छन् । साविकको विजेता मनाङ मर्स्याङ्दी क्लब च्यासल युथ क्लबसँगको पराजयसँगै उपाधि होडबाट बाहिरिएको थियो ।
कीर्तिमानी ८ औं पटकको विजेता मनाङ उपाधि होडबाट बाहिरिएसँगै लिगले नयाँ च्याम्पियन पाउने पक्का भएको छ ।
आर्मीले १२ खेलबाट २९ अंक जोडेको छ । समान खेलबाट समान ९ जित हात पारेको मछिन्द्र २८ अंक सहित दोस्रो स्थानमा छ ।
गत सिजन खराब प्रदर्शन बाबजुद सुरुवातवाटै १ अंक खोसिएको मछिन्द्रलाई सोहि एक अंकले तड्पाउन सक्नेछ । बिना रेलिगेशनको लिगमा अन्तिमबाट दोस्रोमा रहँदा उसले एक अंक गुमाउनु परेको हो ।
दशरथ रंगशालामा शनिबार हुने फाइनल सरहको खेलमा आर्मीलाई कम्तिमा बराबर भए पुग्नेछ । थ्रीस्टार र मनाङबाट खेल्दै आएका अनुभवी र स्टार खेलाडी जम्मा गरेको मछिन्द्रलाई जितको विकल्प छैन ।
पहिलो पटक 'ए' डिभिजन लिग हेरिरहेका प्रवेश कटुवाल र दोस्रो पटक आर्मी हेरिरहेका नविन न्यौपाने एक समय दुबै मनाङका महत्वपूर्ण खेलाडी हुन् । एक प्रकारले यो खेल प्रशिक्षकबीचको जुहारी पनि हो । दुबै प्रशिक्षक आफ्नो टिमले लिग जित्ने दाबी गर्दै आईरहेका छन् ।
शीर्ष ६ मा ५ टिम सुरक्षित
लिगको अन्तिम चरणका खेल बाकी रहँदा शीर्ष ५ टिमको टुंगो लागेको छ । एन्फाको कार्ययोजना अनुसार लिगको शीर्ष ६ टिमले राष्ट्रिय लिग खेल्नेछन् । एन्फाले लिगका शीर्ष ६ र एन्फा प्रेसिडेन्ट कपको उत्कृष्ट ४ टिमलाई सहभागीता गराउँदै राष्ट्रिय लिग गराउन लागेको हो ।
उपाधि होडका आर्मी र मछिन्द्रसँगै साविकको विजेता मनाङ (२५), थ्रीस्टार (२३) र जावलाखेलको (१९) अंक जोडेर शीर्ष ६ पक्का भएको हो । यस्तै १७ अंकसहित छैटौं स्थानमा रहेका पुलिसले भने अन्तिम खेल कुर्नुपर्नेछ । अन्तिम खेलमा फ्रेन्ड्ससँगको जितले भने पुलिस शीर्ष ६ मा रहने छ । यदि हार र बराबरीले भने पुलिस अन्य टिमको भरमा पर्नेछ । पुलिस बराबरीमा रोकिए च्यासल , एनआरटी र संकटाको खेल कुर्नु पर्नेछ । तीनै टिमको समान १५ अंक रहेको छ ।
यस्तै फ्रेन्डस (१४), हिमालयन शेर्पा (११) , ब्रिगेड ब्वाईज (८) र एपीएफ (८) ले भने आफुलाई रेलिगेशन क्षेत्रबाट मात्रै सुरक्षित गर्न सफल भए ।
सरस्वती रेलिगेशनमा
अन्तिम खेल अघि एक मात्रै जित निकालेको सरस्वती युथ क्लब भने ४२ औं संस्करणको लिगबाट रेलिगेशनमा परेको छ । खराव प्रदर्शन बाबजुद सरस्वती एक खेल अघि दोस्रो डिभिजनमा घटुवा भएको हो ।
६८ सालमा 'ए' डिभिजन लिगमा उक्लिएको सरस्वती ८ वर्षपछि दोस्रो डिभिजनमा झरेको हो । ८ वर्षको अन्तरालमा उसले ५ पटक मात्रै 'ए' डिभिजन लिग खेल्न पायो । तर उ कहिल्यै आठौं स्थानबाट माथि उठ्न सकेन । पहिलो पटक ६३ सालमा पहिलो पटक शीर्ष डिभिजनमा उक्लिएको सरस्वती त्यसै वर्ष रेलिगेशनमा परेको थियो ।
जारी लिगको १२ खेल खेल्दा सरस्वतीले एक जित एक बराबर खेल्दा १० खेलमा हार ब्यहोरेको छ । अन्तिम खेलमा संकटाविरुद्ध खेल्दै उसले 'ए' डिभिजन लिगको बिदाई गर्नेछ ।
सर्बाधिक गोलकर्ताको शीर्षमा आशिष
एपीएफ क्लबका स्ट्राइकर आशिष लामा जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका छन् । राष्ट्रिय टिमबाट खेलिसकेका आशिषले लिगमा ८ गोल गरेका छन् ।
आशिषले गरेको ८ गोल गत सिजनमा भएको गोल भन्दा १ गोलले बढि हो । गत सिजन थ्री स्टारका डिफेन्डर रन्जित धिमाल, आर्मीका स्ट्राइकर भरत खवास र मनाङका विदेशी खेलाडी ओलावाले आफिजले समान ७ /७ गोल गरेका थिए ।
यस पटक शीर्ष ५ भित्र भने नेपाली खेलाडी नै रहेका छन् । सन्तोष साहुखल, विमल राना, अन्जन बिष्ट र नवयुग श्रेष्ठ अन्तिम ५ भित्र रहेका छन् । सबै खेलाडीले राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन् ।
च्यासल युथका स्ट्राइकर सन्तोषले ७ गोल गरेका छन् । यस्तै मनाङका विमल राना, अन्जन बिष्ट र आर्मीमा नवयुग श्रेष्ठले समान ६/६ गोल गरेका छन् ।