काठमाडौं । नेपाली राष्ट्रिय टोली तथा विभागीय टिम त्रिभुवन आर्मी क्लबका फरवार्ड भरत खवासले नेपाली फुटबलकै माथिल्लो श्रेणीको लिग सहिद स्मारक 'ए' डिभिजन लिगमा ५० गोल पुरा गरेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत ब्रिगेड ब्वाईज क्लबविरुद्धको खेलमा एक गोल गरेसँगै भरतले ५० गोलको कोशेढुंगा पार गरेका हुन् ।
ब्रिगेडविरुद्ध खेलको पाँचौं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाए । भरतले जर्ज प्रिन्स कार्कीको क्रसमा हेड गोल गरेका हुन् ।
यस गोलसँगै भरतले शीर्ष लिगमा आफ्नो व्यक्तिगत ५० गोल पुरा गरेका हुन् ।
'ए' डिभिजन लिगमा ५० गोल पुरा गर्ने भरत सातौं खेलाडी हुन् । भरतले संकटा क्लबबाट शीर्ष डिभिजन लिगमा डेब्यु गोल गरेका थिए ।
त्यसपछि नेपाल पुलिस क्लब हुँदै भरत आर्मीबाट खेलिरहेका छन् ।
यस अघि बसन्त थापा, रमेश बुढाथोकी, सुरेन्द्र तामाङ, सन्तोष साहुखल, गणेश लावती र अनिल गुरुङले ५० गोल गरिसकेका छन् ।
यस्तै लिगमा १०० गोल पुरा गर्ने कीर्तिमान भने च्यासलका सन्तोष शाहुखलको नाममा रहेको छ ।