काठमाडौं । एपीएफ क्लबका फरवार्ड आशिष लामा सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।
लिगको १२ औं चरण अन्तर्गत सोमबार फ्रेन्ड्स क्लबविरुद्ध दुई गोल गरेसँगै आशिष सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका हुन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा फ्रेन्ड्सविरुद्ध ५-२ गोल अन्तरको जित निकाल्दा आशिषले पहिलो हाफमा दुई गोल गरेका थिए । यससँगै आशिषले जारी लिगमा आफ्नो गोल संख्या ८ पुर्र्याउन सफल भए ।
सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएपछि आशिषले आफुले लिगमा यति धेरै गोल गर्छु भनेर नसोचेको बताए ।
'मैले सोचेको थिएन । सर्वाधिक गोलकर्ताको सूचीमा हुन्छु भनेर,' आशिषले भने, 'हरेक दिन टिमलाई जिताउछु, गोल गर्छु भन्ने भावनाले खेलेको थिए ।'
आशिषले च्यासल युथ क्लबका सन्तोष साहुखललाई १ गोलले पछि पार्दै शीर्ष स्थान ओगटेका हुन् । सन्तोष ७ गोल गरेर दोस्रो स्थानमा रहेका छन् । यस्तै त्रिभुवन आर्मी क्लबका नवयुग श्रेष्ठ ६ गोलसहित तेस्रो स्थानमा रहेका छन् ।
मनाङ मर्स्याङ्दी क्लबका विमल राना र अन्जन बिष्ट समान ५/५ गोल गरेर चौंथो र पाँचौं स्थानमा रहेका छन् ।
यस्तै आशिषले लिगको प्रदर्शनले आफु राष्ट्रिय टिममा फर्कनेमा विश्वस्त रहेको बताए ।
'अब मलाई विश्वास म राष्ट्रिय फर्कने छु,' आशिषले भने ।
आशिषले गत वर्षको मार्चमा कुवेतविरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका थिए । त्यसपछि भने आशिष टिमबाहिर रहदै आएका छन् ।