काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा एपीएफ क्लबले फ्रेन्ड्स क्लबमाथि सानदार जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा एपीएफले फ्रेन्ड्सलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
एपीएफको जितमा आशिष लामा र प्रविन स्याङतेनले २/२ गोल गरे । यस्तै कप्तान टोप बहादुर बिष्टले थप एक गोल गरे । फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल गरे ।
बल पोजिसनमा पकड जमाएपनि फ्रेन्ड्स पहिलो हाफमै २-० ले पछि परेको थियो ।
खेलको १२ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाए । यससँगै आशिष लिगको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।
खेलको ९६ औं मिनेटमा फिलिपेले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को स्थितिमा ल्याए । ७१ औं मिनेटमा प्रविनले गोल गर्दै एपीएफलाई ३-१ को अग्रता दिलाए । ७६ औं मिनेटमा फ्रेन्ड्सका विश्वले गोल गर्दा खेल ३-२ को स्थितिमा पुग्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा एपीएफले लगातार दुई गोल गर्यो । इन्जुरी समयको चौंथो मिनेटमा कप्तान टोपले गोल गर्दै एपीएफलाई ४-२ को अग्रता दिलाए । त्यसको एक मिनेट नबित्दै प्रविनले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ५-२ को सानदार जित दिलाए ।
एपीएफको लिगमा यो दोस्रो जित हो । जितसँगै एपीएफले १२ खेलमा ८ अंक जोडेको छ । एपीएफ पुछारबाट दोस्रो स्थानमा रहेको छ । फ्रेन्ड्स १२ खेलमा १४ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ ।
एपीएफको जितसँगै पुछारको सरस्वतीलाई भने रेलिगेसनको डर भएको छ । सरस्वती ११ खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ ।
खेलमा एपीएफका आशिष लामा म्यान अफ दि म्याच चुनिए ।
के भन्छन् प्रशिक्षक ?
एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले फ्रेन्ड्समाथि जित निकालेपनि रेलिगेसनको खतरा अझै बाँकी भएको बताए ।
'जित निकाल्न सफल भयौं तर अझै रेलिगेसनबाट बच्यौ भनेर ढुक्क हुने अवस्था छैन । सरस्वतीको अझै दुई खेल बाँकी छ,' उनले भने, 'अन्तिम दिनको खेलसम्म ढुक्क हुने अवस्था छैन ।'
एपीएफलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका आशिषले आफु राष्ट्रिय टिममा फर्कने लक्ष्यसहित लिग खेलेको कारण उत्कृष्ट प्रदर्शन गर्न सफल भएको बताए ।
'हरेक दिन टिमलाई जिताउने, गोल गर्ने लक्ष्यसहित मैदानमा उत्रने गरेको छु,' उनले भने, 'मलाई विश्वास म राष्ट्रिय फर्कने छु ।'
फ्रेन्ड्सका प्रशिक्षक तथा पदाधिकारी भने पोस्ट म्याच कन्फरेन्समा उपस्थित भएनन् ।
एपीएफ प्लेईङ सेट -
अमृत कुमार चौधरी, राजन गुरुङ, सन्तोष कटवाल, सुदिप शिख्राकर, टोप बहादुर बिष्ट, प्रताप लामा,आशिष लामा, बुद्धिमान राई,नबिन लामा, श्याम नेपाली, प्रविन कुमार स्याङतेन
फ्रेन्ड्स प्लेईङ सेट -
सोजित गुरुङ, अशिम भुसाल, शनिस श्रेष्ठ, सरोज योन्जन लामा, सुरज गुरुङ, फिलिपे डी सौजा, यादु सिलवाल, विश्व अधिकारी, रमेश बर्तौला, वाग्नेर डी कार्मो, उत्तम राई