काठमाडौं । अन्तिम खेलमा च्यासलसँग पराजित भएको मनाङले आफुलाई उपाधि होडबाट बाहिर राखिसकेको छ । च्यासलसँगको एक मात्रै हारले मनाङ उपाधि होडबाट बाहिर भएको हो ।
लिगको ११ औं चरणमा मनाङले न्युरोड टिम एनआरटीको सामना गर्दैछ । शनिबार एकै दिन तीन खेल परेको हुँदा मनाङ र एनआरटीबीचको खेल हल्चोकस्थित एपीएफको मैदानमा हुनेछ । खेल दिनको ३ बजे हुनेछ ।
उपाधि होडबाट बाहिरिसकेको मनाङ एनआरटीलाई पराजित गर्दै दोस्रो स्थानको लागि खेल्नेछ । लिगको छैठौ जितले मनाङ पुनः तेस्रो स्थानमा उक्लने छ ।
“अन्तिम खेलको हारले उपाधि गाह्रो छ । अव, शीर्ष ६ मा राम्रो गर्न लाग्छौं ।” मनाङका प्रशिक्षक धनेश्वर प्रजापति भन्छन् ।
राष्ट्रिय टिमका पुर्व सदस्य कमल श्रेष्ठको कप्तानीमा रहेको मनाङले एनआरटीविरुद्ध स्ट्राइकर रन्जन बिष्टलाई गुमाउने छ । उनी दोहोरो पहेलो कार्डका कारण टिम बाहिर हुनेछन् ।
मनाङले अन्जन विष्ट सहित ४ विदेशी खेलाडीलाई प्रयोग गर्न पाउनेछ ।
यता, एनआरटी पनि मनाङलाई पराजित गर्दै शीर्ष ६ मा आफुलाई बलियो बनाउन चाहन्छ । लिगको छैठौ जितले एनआरटी पाँचौं स्थानमा पुग्नेछ ।
“मनाङ पहिलेको जस्तो बलियो त छैन । तर नामले पनि राम्रो गरिरहेको छ । अन्तिम खेलको हारले केहि दबाब छ तर पनि राम्रो गर्न लाग्छौँ ।”
एनआरटीका प्रशिक्षक राजु काजी शाक्य भन्छन् ।
उनी टिमको लक्ष्य शीर्ष ६ हुँदा त्यसमा ध्यान केन्द्रित गर्न लाग्ने बताउँछन् ।
नियमित कप्तान प्रकाश बुढाथोकी चोटका कारण बाहिर रहँदा पुलिसका पुर्व कप्तान बिक्रम धिमालले टिमको नेतृत्व गर्दै आएका छन् ।
पुर्व क्लब मनाङविरुद्ध प्रकाश उत्रने सम्भावना रहेको छ । मनाङविरुद्ध एनआरटीलाई ४ विदेशी खेलाडी प्रयोग गर्न उपलब्ध हुनेछन् ।