काठमाडौं । शीर्ष ६ को यात्रालाई सहज पार्न शनिबार ललितपुरको जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब भिड्दैछन् ।
ललितपुर डर्बी अन्तर्गत लिगको ७६ औं खेलमा दुई टिम भिड्न लागेका हुन् । ललितपुरकै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
दुबै क्लबले समान ४–४ खेलमा विजयी हासिल गरेका छन् ।
सुरुवाती पाँच खेलसम्म अपराजित रहेको जावलाखेल फ्रेन्ड्सलाई पराजित गर्दै पाँचौं स्थानमा उक्लिन चाहन्छ ।
कुल्दिप कार्कीको कप्तानीमा रहेको जावलाखेलमा कुनै स्टार खेलाडी छैनन् ।
“फ्रेन्ड्स सुरुवाती खेलमा भन्दा निकै बलियो भएको छ । जित्ने टिम सुपर सिक्सको हकदार रहने भएकाले त्यसैमा लाग्छौं ।” जावलाखेल युथ क्लबका प्रशिक्षक नरेश थापा भन्छन् ।
यता, अन्तिम खेलमा एनआरटीलाई २–० गोल अन्तरले पराजित गरेको फ्रेन्ड्स पनि पाचौं जित निकाल्न चाहन्छ । सरोज योञ्जन लामाको कप्तानीमा रहेको फ्रेन्ड्ससँग तीन ब्राजेलियन खेलाडी र प्रशिक्षको समेत साथ रहने छ ।
छिमेकी जावलाखेलविरुद्धको जितले फ्रेन्ड्स छैठौं स्थानमा उक्लने छ ।
“खेलाडीले पछिल्लो समय निकैनै मेहनत गरेका छन् । शीर्ष ६ मा पर्ने लक्ष्य छ ।” ब्राजेलियन प्रशिक्षक मार्कोस डान्टास भन्छन् ।
दुबै ललितपुरे क्लबले एक दक्षिण एसियाली खेलाडी सहित समान ४–४ विदेशी खेलाडी मैदानमा प्रयोग गर्न सक्नेछन् ।