काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको ११ औं चरणको अन्तिम दिन आज (शनिबार) तीन खेल हुँदैछन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक एकै दिन तीन खेलाउन लागेको हो ।
शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा दुई खेल हुनेछन् भने एक खेल शसस्त्र प्रहरी बलको हल्चोक मैदानमा हुनेछ । जारी लिगमा पहिलो पटक हल्चोक मैदानमा खेल हुन लागेको हो ।
शनिबार बिहान हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब भिड्नेछन् । यस्तै दोस्रो खेलमा जावलाखेल युथ र फ्रेन्ड्स क्लब आमुने सामुने हुनेछन् ।
यता, तेस्रो खेलमा साविकको विजेता मनाङ मस्र्याङ्दी र न्युरोड टिम एन आर टी भिड्नेछन् ।
शेर्पा र च्यासलबीचको खेल विहान साढे ११ बजे एन्फामा हुनेछ । यस्तै जावलाखेल र फ्रेन्ड्सविचको खेल दिनको ३ बजे एन्फामानै हुनेछ । मनाङ र एनआरटीबीचको खेल भने ३ बजे हल्चोक मैदानमा हुनेछ ।
दबाबको शेर्पासँग च्यासल भिड्दै
तालिकाको पुछार नजिक रहेका हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब शनिबार भिड्दैछन् । लिगको ७५ औं खेलमा दुई टिम भिड्न लागेका हुन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विहान हुने खेल साढे ११ बजे सुरु हुनेछ ।
शेर्पा १० खेलबाट ७ अंक सहित तालिकाको १२ औं स्थानमा छ ।
यता अन्तिम खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरको च्यासल समान खेलबाट १२ अंक सहित १० औं स्थानमा छ ।
रेलिगेशन क्षेत्रको सरस्वती भन्दा ३ अंकले अगाडी रहेपनि शेर्पा दबाबमा छ । उसलाई रेलिगेशन क्षेत्रबाट बाहिर निस्कन कम्तिमा एक जितको खाँचो रहेको छ । च्यासलविरुद्धको एक जितले शेर्पा ११ औं स्थानमा उक्लने छ ।
“च्यासलसँग खेल्न हामी तयार छौं । योजना अनुसार खेल्दै नतिजा आफ्नो पक्षमा पार्छौ ।” शेर्पाका प्रशिक्षक संजिब बुढाथोकी भन्छन् ।
अन्तिम खेलमा संकटासँग १–० गोल अन्तरले पराजित भएको शेर्पासँग तीन विदेशी खेलाडीको साथ छ ।
यता, अन्तिम खेलमा मनाङलाई पराजित गर्दै हौसिएको च्यासल शिर्ष ६ मा पर्न प्रयासरत छ । ठुला खेलाडी टिमका अनुवन्ध गरेर पनि सन्तुलित नजिता निकाल्न नसकेको च्यासल चौथो जितको खोजीमा हुनेछ ।
“शेर्पालाई सहज लग्दैनौ । शीर्ष ६ मा रहँन जित्नैपर्ने दबाब छ । सोहि अनुरुप खेल्छौं ।” टिम ब्यवस्थापक शंकर ब्यन्जनकार भन्छन् ।
राष्ट्रिय टिमका पुर्व स्ट्राइकर सन्तोष साहुखलको कप्तानीमा रहेको च्यासलको टिममा शनिबार सुनिल बलले पुनरागन गर्दैछन् । उनी चोटका कारण तीन खेलमा अनुपस्थित थिए ।
मनाङविरुद्ध दुई पहेलो कार्डका कारण प्रतिबन्धमा परेका भारतीय डिफेन्डर मोहम्मद आशिफपनि समावेश हुनेछन् । शेर्पाविरुद्ध दुई जापानीज सहित च्यासलसँग ३ विदेशी खेलाडी उपलब्ध हुनेछन् ।
सुपर सिक्सको भिडन्तमा जावलाखेल र फ्रेन्ड्स
शीर्ष ६ को यात्रालाई सहज पार्न शनिबार ललितपुरको जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब भिड्दैछन् ।
ललितपुर डर्बी अन्तर्गत लिगको ७६ औं खेलमा दुई टिम भिड्न लागेका हुन् । ललितपुरकै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
दुबै क्लबले समान ४–४ खेलमा विजयी हासिल गरेका छन् ।
सुरुवाती पाँच खेलसम्म अपराजित रहेको जावलाखेल फ्रेन्ड्सलाई पराजित गर्दै पाँचौं स्थानमा उक्लिन चाहन्छ ।
कुल्दिप कार्कीको कप्तानीमा रहेको जावलाखेलमा कुनै स्टार खेलाडी छैनन् ।
“फ्रेन्ड्स सुरुवाती खेलमा भन्दा निकै बलियो भएको छ । जित्ने टिम सुपर सिक्सको हकदार रहने भएकाले त्यसैमा लाग्छौं ।” जावलाखेल युथ क्लबका प्रशिक्षक नरेश थापा भन्छन् ।
यता, अन्तिम खेलमा एनआरटीलाई २–० गोल अन्तरले पराजित गरेको फ्रेन्ड्स पनि पाचौं जित निकाल्न चाहन्छ । सरोज योञ्जन लामाको कप्तानीमा रहेको फ्रेन्ड्ससँग तीन ब्राजेलियन खेलाडी र प्रशिक्षको समेत साथ रहने छ ।
छिमेकी जावलाखेलविरुद्धको जितले फ्रेन्ड्स छैठौं स्थानमा उक्लने छ ।
“खेलाडीले पछिल्लो समय निकैनै मेहनत गरेका छन् । शीर्ष ६ मा पर्ने लक्ष्य छ ।” ब्राजेलियन प्रशिक्षक मार्काेस डान्टास भन्छन् ।
दुबै ललितपुरे क्लबले एक दक्षिण एसियाली खेलाडी सहित समान ४–४ विदेशी खेलाडी मैदानमा प्रयाेग गर्न सक्नेछन् ।
मनाङलाई एनआरटीको चुनौती
अन्तिम खेलमा च्यासलसँग पराजित भएको मनाङले आफुलाई उपाधि होडबाट बाहिर राखिसकेको छ । च्यासलसँगको एक मात्रै हारले मनाङ उपाधि होडबाट बाहिर भएको हो ।
लिगको ११ औं चरणमा मनाङले न्युरोड टिम एनआरटीको सामना गर्दैछ । शनिबार एकै दिन तीन खेल परेको हुँदा मनाङ र एनआरटीबीचको खेल हल्चोकस्थित एपीएफको मैदानमा हुनेछ । खेल दिनको ३ बजे हुनेछ ।
उपाधि होडबाट बाहिरिसकेको मनाङ एनआरटीलाई पराजित गर्दै दोस्रो स्थानको लागि खेल्नेछ । लिगको छैठौ जितले मनाङ पुनः तेस्रो स्थानमा उक्लने छ ।
“अन्तिम खेलको हारले उपाधि गाह्रो छ । अव, शीर्ष ६ मा राम्रो गर्न लाग्छौं ।” मनाङका प्रशिक्षक धनेश्वर प्रजापति भन्छन् ।
राष्ट्रिय टिमका पुर्व सदस्य कमल श्रेष्ठको कप्तानीमा रहेको मनाङले एनआरटीविरुद्ध स्ट्राइकर रन्जन बिष्टलाई गुमाउने छ । उनी दोहोरो पहेलो कार्डका कारण टिम बाहिर हुनेछन् ।
मनाङले अन्जन विष्ट सहित ४ विदेशी खेलाडीलाई प्रयोग गर्न पाउनेछ ।
यता, एनआरटी पनि मनाङलाई पराजित गर्दै शीर्ष ६ मा आफुलाई बलियो बनाउन चाहन्छ । लिगको छैठौ जितले एनआरटी पाँचौं स्थानमा पुग्नेछ ।
“मनाङ पहिलेको जस्तो बलियो त छैन । तर नामले पनि राम्रो गरिरहेको छ । अन्तिम खेलको हारले केहि दबाब छ तर पनि राम्रो गर्न लाग्छाैँ ।”
एनआरटीका प्रशिक्षक राजु काजी शाक्य भन्छन् ।
उनी टिमको लक्ष्य शीर्ष ६ हुँदा त्यसमा ध्यान केन्द्रित गर्न लाग्ने बताउँछन् ।
नियमित कप्तान प्रकाश बुढाथोकी चोटका कारण बाहिर रहँदा पुलिसका पुर्व कप्तान बिक्रम धिमालले टिमको नेतृत्व गर्दै आएका छन् ।
पुर्व क्लब मनाङविरुद्ध प्रकाश उत्रने सम्भावना रहेको छ । मनाङविरुद्ध एनआरटीलाई ४ विदेशी खेलाडी प्रयोग गर्न उपलब्ध हुनेछन् ।