काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले बलियो प्रतिद्वन्द्वी संकटा क्लबविरुद्ध साँघुरो जित निकालेको छ
सातदोबाटोमा शुक्रबार भएको खेलमा थ्री स्टारले साविकको उपविजेता संकटालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्समा थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अनन्तले गोल गरेका थिए । उनले खेलको ६१ औं मिनेटमा निर्णायक गोल गरे ।
संकटाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई अनमार्क रहेका अनन्तले सहज गोल गरेका थिए । जारी लिगमा अनन्तको यो तेस्रो गोल हो ।
खेलमा संकटाले पनि गोलको केहि अवसर गुमाएको थियो । खेलको ४२ औं मिनेटमा संकटा गोल गर्न चुकेको थियो । थ्री स्टारका गोलकिपर प्रिसो बिट भएको अवस्थामा अनमार्क रहेका मार्टिन्सले गोलको प्रयास गरेपनि पहिलो बारमा रहेका कप्तान बिक्रम लामाले हेडिङबाट क्लियर गरे ।
यस्तै खेलको ५४ औं मिनेटमा थ्री स्टारका मिक्छेन तामाङले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । ६० औं मिनेटमा मिक्छेनकै प्रहार संकटाका गोलकिपर विनय श्रेष्ठले पन्च गरेर बचाए ।
खेलमा थ्री स्टारका बिक्रम लामा म्यान अफ दि म्याच चुनिए ।
जितसँगै थ्री स्टार लिगको तेस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले ११ खेलमा २० अंक जोडेको छ ।
पराजित संकटा ११ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
संकटालाई हराएपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले अब टोलीको शीर्ष ६ पक्का भएको बताए ।
'खेल ठिकै भयो । आज धेरै अवसर निस्केन । दुबै टिम बराबर नै थियौं,' उनले भने, 'डिफेन्डरले राम्रो गर्यो । महत्त्वपूर्ण तीन अंक आयो र सुपर सिक्स पक्का भयो ।'
संकटाका प्रशिक्षक विजय महर्जनले टिमले अझै शीर्ष ६ को लागि प्रतिस्पर्धा गर्ने बताए ।
'खेल सोचेजस्तो भएँन । गोल निकाल्न सकेनौं । डिफेन्डरले अफ साइट बिट गरेन र गोल खायौं,' उनले भने, 'दुई खेल बाँकी छ । अझै सुपर सिक्सको लागि खेल्छौ ।'
थ्री स्टार प्लेईङ सेट -
अनन्त तामाङ, लाल राम्मव्रा, विक्रम लामा,प्रिसो,अशोक खवास,सन्जोग राई, निशान खड्का,सुशील राई, सुशन श्रेष्ठ, निशान खड्का,मिक्छेन तामाङ
संकटा प्लेईङ सेट -
अमित तामाङ, लक्ष्मण रुचाल, मेसौके,विष्णु सुनार, विनय श्रेष्ठ,राजेन्द्र रावल,अजयी मार्टिन्स, कर्ण सुब्बा,एर्नेस्ट टेम्पी,सरोज दाहाल, दिपेश आले मगर